धनगढी । कैलालीको टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा खड्ग धामी निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार अध्यक्षका प्रतिस्पर्धी तीनजना उम्मेदवारलाई पछि पार्दै धामी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले एक हजार २३८ मत पाए । उनी नेपाली काँग्रेसको प्यानलको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका थिए ।
संस्थाको नयाँ कार्यसमिति चयनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले प्यानलसहितको उम्मेदवारी दिएका थिए । अध्यक्षमा निर्वाचित धामीका प्रतिस्पर्धी सरिता रावल थापाले ६८६, सिर्जना शर्मा पण्डितले ४४४ र विश्राम थारुले ३८८ मत प्राप्त गरेका छन् । थापा एमाले, पण्डित माओवादी केन्द्र र थारु नागरिक उन्मुक्ति पार्टीको प्यानलको नेतृत्व गरिरहेका थिए ।
संस्थामा पण्डित कार्यबाहक अध्यक्ष, थारु कोषाध्यक्ष र थापा सदस्य थिए । अध्यक्षमा निर्वाचित धामी पनि संस्थाको सदस्य थिए ।
यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)बाट सीतादेवी चौधरी, कोषाध्यक्षमा काँग्रेसका हिरासिंह बिष्ट, सचिवमा नेकपा (एमाले)का प्रकाश खड्का विजयी भएका छन् ।
सदस्यमा नेपाली काँग्रेसका डम्बरबहादुर नायक, जानकी आचार्य, नेकपा (एमाले)बाट बमबहादुर ओली, जाल्पा भट्टराई र एकीकृत समाजवादीबाट तेजे ठकुल्ला निर्वाचित भउका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ मा खानेपानी सुविधा पुगाउँदै आएको संस्थाको निर्वाचनमा छ हजार ९४० सदस्यहरुमध्ये तीन हजार ५९३ मत खसेको थियो ।
प्रतिक्रिया