ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार घटना : अघिल्लो दिन ब्लक ‘बी’ को रासन कब्जा गरेका थिए ब्लक ‘ए’ का कैदीबन्दीले

सोमबार २६, साउन २०८२ ११:५१

धनगढी । कैलाली कारागारमा शुक्रबार राति हिसांत्मक झडप भयो । त्यसको अघिल्लो दिन बन्दीगृहको ब्लक ‘ए’ का कैदीबन्दीले ब्लक ‘बी’ का कैदीबन्दीको रासन कब्जा गरेको खुलेको छ । कारागार स्रोतका अनुसार चामलसहित खाद्यान्न र ग्याँस सिलिण्डरसमेत अर्को ब्लकका कैदीबन्दीले कब्जा गरेपछि ब्लक ‘बी’ का कैदीबन्दीले साउन २२ गते बिहान भोकै बस्नु परेको थियो ।

बेलुकीसमेत राशन र ग्याँस फिर्ता नदिएपछि कारागार प्रशासनले ब्लक ‘सी’ का कैदीबन्दीबाट १० कठ्ठा चामल तथा नुन, तेल र दुई सिलिण्डर ग्याँस सापटी मागेर ब्लक ‘बी’का कैदीबन्दीको लागि बेलुकीको खानाको व्यवस्था गरेको थियो । ब्लक ‘सी’ मा महिला कैदीबन्दी बस्छन् ।

‘दुवै ब्लकमा खाद्यान्न जाने ठाउँ एउटै थियो । ब्लक ‘ए’ का कैदीबन्दीले खाद्यान्न र ग्याँस आफ्नो नियन्त्रणमा राखेपछि ब्लक ‘बी’ का कैदीबन्दी २२ गते बिहान भोकै बसे,’ कारागार स्रोतले भन्यो, ‘महिला बस्ने ब्लकबाट चामल, नुन, तेल र ग्याँस सिलिण्डर सापटी मागिदियौँ । पछि पैसा दिने शर्तमा बाहिरबाट तरकारी मगाइ दिएपछि उनीहरुले बेलुकी खान पाए ।’ 

बिहीबार बेलुकी खाना खाएलगत्तै दुई समूहबीच झडप भएको थियो । झडपमा पाँच जना कैदीबन्दी घाइते भए । उनीहरुलाई तत्कालै सेती प्रादेशिक अस्पताल लगिएको थियो । घाइतेमध्ये एक जनाको अहिले पनि उपचार भइरहेको छ । 

कारागार स्रोतका अनुसार भित्र कब्जा जमाएको बडुवाल हत्या काण्डका नविन रावल समूहका दुई कैदीबन्दीको सरुवा भएपछि उनको पक्षका कैदीबन्दी विरोधमा उत्रिएका थिए । उनीहरुले ब्लक ‘बी’ मा आफ्नो समूहको बर्चश्व जमाएका थिए । यो समूहका अधिकांश ब्लक ‘ए’ मा बस्थे । उनीहरुले ब्लक ‘बी’ मा पनि कब्जा जमाएका थिए । ब्लक ‘ए’मा झण्डै चार सय कैदीबन्दी बस्छन् ।

‘आफ्नो समूहका कैदीबन्दी सरुवा गरेपछि ब्लक ‘बी’ मा आफ्नो बर्चश्व गुम्छ भनेर रावल समूह विरोधमा उत्रियो,’ कारागार स्रोतले भन्यो, ‘सरुवा र बर्चश्व जमाइराख्ने विषयले शुक्रबार रातिको घटना भएको हो ।’ खाद्यान्न नियन्त्रयणमा लिएपछि कैदीबन्दीले शुक्रबार बिहानैबाट कारागारभित्र नाराबाजी गरेका थिए । 

त्यसपछि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायको टोलीले दुवै समूहसँग बसेर छलफल गरेको थियो । ‘दिउँसो मिलेर बस्ने सहमति भयो तर ब्लक बी  का कैदीबन्दी सुतेकै बेला मध्यराती ब्लक ए का कैदीबन्दीले अन्धाधुन्ध आक्रमण गरे,’ कारागार सुरक्षा स्रोतले भन्यो, ‘सम्भावित जोखिमको आँकलन गर्न नसक्दा ठुलो घटना भयो ।’ 

घाइते सबैजसो ब्लक ‘बी’ कै कैदीबन्दी छन् । आक्रमणमा घटनामा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४७ जना घाइते छन् । बिहीबार घाइते भएका थप एकजनाको पनि उपचार भइरहेको छ । 

प्रतिक्रिया