धनगढी । मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटनमा नयाँ सहर स्थापनाका लागि काम सुरु भएको डेढ दशक पुग्न थालेको छ । शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक सहरलाई त्यस क्षेत्रको आर्थिक केन्द्रको रूपमा विकास गर्ने र बसाइँसराइ रोक्ने उद्देश्यले आर्थिक वर्ष २०६७/०६८ देखि पाटनमा नयाँ सहर आयोजना लागू भएको थियो ।
तर, डेढ दशकसम्म पनि आयोजनाको मुख्य काम अर्थात् जग्गा एकीकरणको कामले पूर्णता पाएको छैन । जग्गा एकीकरणको काम नभएको हुँदा स–साना सडक र ढल निर्माणबाहेकको काम हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका प्रमुख रुद्रनारायण दासले बताए । ‘मूल काम जग्गा एकीकरण नै हो,’ उनले भने, ‘जग्गा एकीकणको काम भइसकेपछि मात्रै विस्तृत शहरी विकासको काम हुन सक्छ ।’
नयाँ सहरको रणनीतिक योजनाअनुसार विद्युत्, सडक, ढल, खानेपानी, खेलकुद मैदान, रंगशाला, एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ल्यान्डफिल साइट), बसपार्क, पार्क निर्माण, अस्पताललगायतका कार्य गर्न सम्बन्धित क्षेत्रका जग्गाधनीहरूले आयोजना कार्यालयलाई जग्गा प्रयोग गर्न सहमति दिनुपर्छ । त्यो सहमतिलाई नै जग्गा एकीकरण भनिएको छ ।
तर, पाटनमा जग्गा एकीकरणका लागि सहमति प्राप्त नभएको दासले बताए । नयाँ सहर आयोजनाअन्तर्गत नै बसपार्क निर्माणको काम भने सम्पन्न भएको कार्यालय प्रमुख दासले बताए । ‘चार चरणमा बसपार्क निर्माण भएको छ,’ उनले भने, ‘हस्तान्तरण भने भएको छैन । सञ्चालन पनि भएको छैन ।’
आर्थिक वर्ष २०७१/७२ मा नयाँ शहर आयोजनाअन्तर्गत बसपार्क निर्माण सुरु भएको थियो । आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माण गरिएको हो । बसपार्कमा अपांगमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसीसी बाटो, काउन्टर भवन निर्माण गरिएको कार्यालय प्रमुख दासले बताए ।
प्रतिक्रिया