ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा दुई महिनादेखि रेविजविरुद्धको खोप अभाव, आपूर्ति केन्द्रमा छैन मौज्दात

आइतबार २९, असार २०८२ ०५:२७

धनगढी  । सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेविजविरुद्धको खोप (एआरभी) अभाव भएको छ । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा करिब दुई एक महिनायता रेविजविरुद्धको खोप उपलब्ध छैन । 

सरकारीमा निशुल्क पाइने एआरभी खोप निजी अस्पताल र मेडिकलमा सेवाग्राही प्रति भाइल साढे छ सय रुपैयाँभन्दा बढी तिरेर लगाइरहेका छन् । कतिपय पहाडी क्षेत्रमा निजी स्वास्थ्य संस्थामै पनि खोप सहज पाइदैन । प्रदेशभरि एआरभी खोपको आपूर्ति गर्दै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा करिब दुई महिनायता खोप मौज्दात छैन ।

केन्द्रका सूचना अधिकारी जितेन्द्र बोगटीले केन्द्रबाट खोप नआएकाले स्वास्थ्य संस्थाहरुलाई वितरण गर्न नसकिएको बताए । ‘स्वास्थ्य संस्थाहरुबाट एआरभी खोपको माग आइरहेको छ तर मौज्दात नभएकाले पठाउन सकेका छैनौँ,’ उनले भने, ‘सबैजसो स्वास्थ्य संस्थामा यो खोपको अभाव छ ।’

केन्द्रका अनुसार सुदूरपश्चिमका ३० वटा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेविजविरुद्धको खोप सेवा सञ्चालनमा छ । रेविजविरुद्धको खोप लगाउन आउने सेवाग्राहीको बढी चाप हुने धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करिब डेढ महिनायता खोप छैन ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले सेतीमा दैनिक १० देखि १५ जना एआरभी खोप लगाउन आउने गरेका बताए । सेतीमा खोप सकिएकाले तीमध्ये कतिपय बिरामी निजि स्वास्थ्य संस्थामा जान्छन् । ‘खोप सकिए पनि लगाइदिने सुविधा सेतीमा छ । कतिपय सेवाग्राहीले मेडिकलबाट एआरभी खोप किनेर ल्याउनु हुन्छ र यहाँ आएर लगाइ माग्नु हुन्छ’ श्रेष्ठले भने । यो बीचमा केही भाइल एआरभी खोप आए पनि एक÷दुई दिनमै सकिएको अस्पतालले जनाएको छ ।

कुकुर, बिरालो, स्याललगायत जनावरले टोकेमा ती जनावरबाट रेबिज रोग सर्न नपाओस् भनेर रेविजविरुद्धको खोप लगाउने गरिन्छ । चिकित्सकका अनुसार रेविजविरुद्धको खोप तीन पटक लगाउनु पर्छ ।

धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा मेडिकलहरुमा प्रतिभाइल साढे छ सयभन्दा माथि पर्ने एआरभी खोप दुर्गम क्षेत्रका नागरिकले अझ चर्को शुल्क तिर्नु परिरहेको छ । सरकारी स्वास्थ्य संस्थामा खोप सकिएपछि विपन्न वर्गका सेवाग्राही मारमा परेका छन् ।

महाकाली प्रादेशिक अस्पतालले गत १६ जेठबाट अस्पतालमा रेविजविरुद्धको खोप सकिएको जनाएको छ । अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीले खोप लगाउन आउने सेवाग्राहीको चाप भने बढीरहेको बताए । 

‘अहिले खेतीपातीको सिजनमा किसानहरु साँझबिहान घरबाट निस्कने भएकाले कुकुरको टोकाइका घटनाहरु बढी हुन्छन्’ जोशीले भने, ‘खोप लगाउन आउने सेवाग्राहीको संख्या धेरै छ । खोप सकिएको थाहा पाएपछि कतिपय फर्केर जान्छन्, कतिपय मेडिकलबाट खोप किनेर यहाँ लगाइ माग्छन् ।’ अस्पतालमा दैनिक ३०–४० जना बिरामी रेविजविरुद्धको खोप लगाउन आउने गरेका उनले जानकारी दिए ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी बोगटीका अनुसार केन्द्रबाट गत साता आएको दुई सय ४० भाइल एआरभी आएको थियो । उक्त खोप महाकाली र सेती प्रादेशिक अस्पताललाई दिए पनि एक÷दुई दिनमै सकिएको उनले बताए । 

‘केही वर्षयता यो सिजनमा वर्षेनि एआरभी खोप अभावको समस्या देखिने गरेको छ’ बोगटीले भने, ‘सरकारले नै उपलब्ध गराउने भएकाले अस्पतालहरुले एआरभी खोप खरिदको योजना बनाउँदैनन् । यो खोपको भण्डारण र उपलब्धता पनि सहज छैन ।’ दुर्गम क्षेत्रमा सर्वसाधारणले मेडिकलमा पनि खोप पाउन कठिन रहेको उनले बताए ।
 

प्रतिक्रिया