ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय’ सञ्चालन हुँदा के हुन्छ फाइदा ?

मङ्गलबार २१, असोज २०८२ १०:५५

धनगढी । मेडिकल कलेजका लागि भन्दै कैलालीको गेटामा सात अर्बका संरचना निर्माण गरियो । अहिले त्यहाँ ‘शहीद दशरथभन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनाका लागि ऐन बनाइएको छ । ४ असारमा राष्ट्रपतिबाट प्रमाणिकरण भएर सोही दिन राजपत्रमा प्रकाशित उक्त ऐन साउन ५ गतेदेखि लागू भइसकेको छ ।

तर, अहिलेसम्म ऐनअनुसार कुनै काम भने भएको छैन । ऐनअनुसार न त विश्वविद्यालयमा नियुक्तिको प्रक्रिया अगाडि बढेको छ, न त विश्वविद्यालयको कार्यालय र इकाई स्थापनाका काम भएका छन् । गेटामा १ कात्तिक २०८० देखि स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शय्याको अस्पताल सञ्चालनमा छ । तर, ऐनअनुसारको विश्वविद्यालय स्थापना भयो भने सुदूरपश्चिम मात्र नभएर देशभरकै स्वास्थ्य र स्वास्थ्य शिक्षाको अवस्थामा कायपलट नै हुने विज्ञहरु बताउँछन् । गेटामा विश्वविद्यालय सञ्चालन भए छ सय शय्याको अस्पताल र एबीबीएसलगायत मेडिकल शिक्षाको अध्यापन हुने छ ।

परनिर्भरता हट्ला ?
एसोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्तका अनुसार एक दशक अघिसम्म सुदूरपश्चिमका झण्डै ७० देखि ८० प्रतिशत बिरामी उपचारका लागि सीमावर्ती भारतीय बजारका अस्पतालमा पुग्ने गरेका थिए । ‘पछिल्लो समय प्रदेशको राजधानी धनगढीमा स्तरीय निजी अस्पताल खुलेका छन् भने प्रादेशिक अस्पतालको सेवा पनि सुधार भएको छ,’ उनले भने, ‘यसले सामान्य उपचारका लागि भारत जाने बाध्यता भने घटेको छ । हामीले अहिले ६० प्रतिशत बिरामीलाई यहीँ रोक्न सफल भएका छौं ।’

अफिन सुदूरपश्चिमका पूर्वअध्यक्ष जनकराज जोशी ऐनअनुसार नै गेटामा विश्वविद्यालय सञ्चालन भयो भने उपचारका लागि भारत जानुपर्ने बाध्यता शून्यमा झर्ने बताउँछन् । ‘हुन त यहाँ निजी अस्पताल खुलेपछि उपचारमा भारतमाथिको परनिर्भरत धेरै घटेको छ,’ उनले भने, ‘तर, नेपालीलाई लक्षित गर्दै भारतका बजारमा खोलिएका अस्पतालले आकर्षक सुविधा दिएर गाउँगाउँमा एजेन्ट राखेका छन् । जसले गर्दा उपचारका लागि भारतीय अस्पताल धाउने क्रम अपेक्षित रुपमा घटेको छैन । गेटामा विश्वविद्यालय सञ्चालन भए पूर्ण रुपमा घट्छ ।’

एकिन तथ्यांक नभए पनि उपचारका लागि भारत जानुपर्ने बाध्यताका कारण अहिले पनि सुदूरपश्चिमका नागरिकको दैनिक लाखौं रुपैयाँ बाहिरिने गरेको छ । तर, गेटामा मेडिकल विश्वविद्याय सञ्चालन भएर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिए सीमावर्ती क्षेत्रका भारतीय बिरामीलाई पनि उपचारका लागि तान्न सकिने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बम पनि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन भए उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउँछन् । ‘अहिले पनि गम्भीर प्रकृतिका बिरामीको उपचार सुदूरपश्चिममा सम्भव छैन,’ उनले भने, ‘विश्वविद्यालयमा सञ्चालन हुने अस्पतालमार्फत सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्ने भनिएको छ । यसले उपचारमा परनिर्भरता हट्छ ।’

बमका अनुसार दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सम्बन्धनको अधिकार पनि छ । ‘अहिलेका प्रादेशिक अस्पताल र डडेल्धुरामा रहेको संघीय अस्पताललाई मेडिक कलेजका रुपमा सम्बन्धन दिइयो भने स्वास्थ्य सेवामा सुदूरपश्चिमवासीको पहुँच निकै बृद्धी हुन्छ,’ उनले भने ।

मेडिकल शिक्षामा फड्को
सुदूरपश्चिममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न र मेडिकल शिक्षाको अध्यापन सुरु गर्नका लागि चर्चा सुरु भएको २६ वर्ष बितेको छ । तर, आफ्नै प्रदेशमा एमबीबीएस पढ्ने सपना पनि सुदूरपश्चिवासीको अझै पूरा भएको छैन । २०५६ सालमा भारतको काञ्चिकामकोटी पीठका जगद्गुरु जयन्द्र सरस्वती शङ्कराचार्य नेपाल भ्रमणमा आएको बेला कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको थियो । उनले आयुर्विज्ञान मेडिकल कलेजको शिलान्यास पनि गरेका थिए । उनकै लगानीमा केही संरचना पनि निर्माण भए । तर, मेडिकल कलेज स्थापनाको कार्य भने अलपत्र प¥यो । त्यसको १० वर्षपछि २०६६ सालमा सरकारले नै गेटामा मेडिकल कलेज स्थापना गर्ने घोषणा ग¥यो । तर, काम अगाडि बढ्न सकेन । २०६९ सालमा मेडिकल कलेज निर्माणका लागि ८४ बिघा जग्गा छुट्याएर नक्सांकनको काम भयो । वन क्षेत्रको जग्गा भएकाले रुख कटानीको प्रक्रियामै लामो समय लाग्यो ।

२०७२ सालमा रुख कटानीको प्रक्रिया अगाडि बढ्यो । त्यसपछि मेडिकल कलेज निर्माणका लागि ५ सय ५३ वटा रुख काटिए । सोही वर्षदेखि गेटामा ६ सय शय्याको अस्पतालसहित मेडिकल कलेज सञ्चालनका लागि भवन निर्माणको कार्य सुरु भएको थियो । अहिले पूर्वाधार निर्माणको काम सकिएको छ । तर, घर छेउमै एमबीबीएस पढ्ने सपना भने पूरा भएको छैन । डडेल्धुरामा स्थापना भएको मेडिकल कलेजमा पनि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी र बिएस्सी नर्सिङलगायतका कक्षा सञ्चालन मात्रै भइरहेका छन् । डडेल्धुरा अस्पताल तीन सय शय्यामा स्तरोन्नति नहुँदा त्यहाँ पनि एमबीबीएसको अध्यापन सुरु भएको छैन ।

अब गेटामै विश्वविद्यालय सञ्चालन भए आफ्नै प्रदेशमा एमबीबीएससहितको मेडिकल शिक्षा अध्यापनको सपना पूरा हुने विश्वासमा सुदूरपश्चिमवासी छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बमका अनुसार अहिले सुदूरपश्चिमका जिल्ला अस्पताल र स्थानीय तहले सञ्चालन गरेका अस्पताल छात्रवृत्तिमा पढेका डाक्टरको भरमा सञ्चालन छन् । ‘गेटामै एमबीबीएस र एमडीको अध्यापन भए यहाँका बासिन्दाले घर छेउमै पढ्न पाउने छन्,’ उनले भने, ‘अर्कोतर्फ दक्ष जनशक्ति उत्पादन भएर ग्रामिण क्षेत्रका अस्पतालमा पनि पठाउन सकिन्छ ।’

प्रतिक्रिया