ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा अस्पतालजन्य फोहोर व्यवस्थापनमा चुनौती

बुधबार २२, असोज २०८२ १०:५१

धनगढी । सहरी फोहोर व्यवस्थापनमा सफल भएको कैलालीको धनगढी उपमहानगरपालिकालाई अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न चुनौती भएको छ । सहरी क्षेत्रबाट निस्केको फोहोर व्यवस्थापन गरी नगद आम्दानी गरिरहेको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोर व्यवस्थापनको काम सुरु गर्न सकेको छैन । 

यद्दपि, उपमहानगरपालिकाको सरसफाई तथा वातावरण शाखाले अस्पतालजन्य फोहोर व्यवस्थापनको प्रयास भइरहेको जनाएको छ । उपमहानगरपालिकाका वातावरण इन्जिनियर अशोक अवस्थीले अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र निर्माण भइसको बताए । उनले स्वास्थ्य संस्थाबाट फोहोर संकलन गर्नका लागि गाडी खरिदको लागि टेण्डर आह्वान समेत भइसकेको बताए । ‘हामीले स्वास्थ्य संस्था लगायत सरोकारवालाहरुसंग केही चरणमा छलफल पनि गरेका छौं,’ उनले भने, ‘गाडी खरिद र जनशक्ति व्यवस्थापन भएपछि अस्पतालबाट फोहोर संकलन र व्यवस्थापन सुरु गर्छौ ।’

उपमहानगरपालिकाले वडा नं. २ पुरानो भन्सार रोडमा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको छ । ६० लाखको लागतमा निर्माण अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र बनेको बताउँदै अवस्थीले स्वास्थ्य संस्थाबाट संकलन भएको जोखीमयुक्त फोहोर सो केन्द्रमा ल्याएर उच्च तापक्रम र उच्च प्रेसर दिएर ‘अटो क्लेभ’ गरिने बताए । उनले हानीकारक विषाणु नष्ट भएपछि शहरी फोहो व्यवस्थापन केन्द्रको शुक्ष्म वर्गीकरण क्षेत्रमा लगेर वर्गीकरण गरिने बताए । ‘अस्पतालमा उच्च गुणस्तरको प्लाष्टिक प्रयोग भएको हुन्छ,’ उनले भने, ‘त्यस्ता वस्तुलाई छानेर हामीले रिफाइनका लागि विक्री गर्छौ । पुनः प्रयोगमा नआउने वस्तुहरुलाई त्यही नष्ट गर्छौ ।’

यद्दपि, अस्पतालजन्य फोहोर व्यवस्थापन उपमहानगरपालिका र स्वास्थ्य संस्थाहरुलाई महंगो सावित हुने छ । ईञ्जिनियर अवस्थीका अनुसार उपमहानगरपालिकाले अनुदान दिएको फोहोर व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरुले प्रतिकिलो ४३ रुपैयाँ र अनुदान नदिएको फोहोर व्यवस्थापनका लागि प्रतिकिलो ५८ रुपैयाँ उपमहानगरपालिकालाई बुझाउनुपर्ने छ । त्यसका लागि स्वास्थ्य संस्थाहरुले स्रोतमै वर्गीकरण गरेर फोहोर उठाउन आएको गाडीलाई दिनुपर्ने छ ।
 

प्रतिक्रिया