धनगढी । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका हजार बढी घरमा पानी पसेको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, शिवनगर, क्याम्पस रोड, रातोपुल, हसनपुर, तारानगर, विशालनगर, शिक्षा टोल, श्रीलंका लगायतका बस्तीका हजार बढी घरमा पानी पसेको छ ।
कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार धनगढीका मात्रै हजार बढी घरमा पानी पसेको छ । `पानी निरन्तर परिरहेको छ,´ उनले भने, `धनगढीको वरपर भएर बग्ने मोहना नदीमा पनि पानीको सतह बढिरहेको हुँदा नदीको बाढी बस्ती पस्ने जोखिम छ ।´
प्रशासन कार्यालयका अनुसार डुबानमा परेर फसेका धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका सात जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी ११ जनाको उद्धार गरिएको छ ।
यस्तै धनगढीमै रहेको सेती प्रादेशिक अस्पतालमा पनि पानी पसेको छ । अस्पतालले स्विपर लगाएर पानी फालिरहेको जनाएको छ । यस्तै प्रदेशको स्थायी राजधानी घोषणा भएको गोदावरीका पनि थुप्रै बस्ती डुबानमा परेका छन् ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले अत्तरिया क्षेत्रमा पछिल्लो २४ घण्टामा २१२.२ मिलिमिटर वर्षा भएको जनाएको छ । त्यस्तै धनगढी विमानस्थलको मापनमा पछिल्लो २४ घण्टामा दुई सय मिलिमिटर वर्षा भएको कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा कञ्चनपुरको बेलौरीमा २६४.६ मिलिमिटर मापन भएको महाकाली बेसिनफिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय शाहले जानकारी दिए ।
प्रतिक्रिया