धनगढी । भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका दर्जनौं बस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, शिवनगर, क्याम्पस रोड, रातोपुल, हसनपुर, तारानगर, शिक्षा टोल, श्रीलंका लगायतका बस्तीका कयौं घरमा पानी पसेको छ । कहिल्यै डुबानमा नपरेको तारानगर क्षेत्र पनि जलमग्न भएको स्थानीय रतन कठायतले जानकारी दिए ।
यस्तै, निरन्तरको वर्षाका कारण धनगढी उपमहानगरको मुख्य सडक र आधा दर्जन भित्री सडक पनि जलमग्न भएका छन् । मुख्य सडकमा रहेका पसलहरुमा पानी पसेको छ ।
धनगढी उपमहानगर क्षेत्रमा रहेका खोलानालाको जग्गासमेत नगर विकास समितिले बिक्री गरेपछि धनगढीमा डुबानको समस्या निम्तिएको बताइन्छ । सोही निष्कर्ष निकाल्दै ०७४ सालमा स्थानीय तहको निर्वाचनपछि बसेको उपमहानगरको पहिलो कार्यपालिका बैठकले सार्वजनिक जग्गा तथा खोलानालामा भएका अतिक्रमण हटाई संरक्षण गर्ने निर्णय गरेको थियो । सोही बैठकले तत्कालिन वडाध्यक्ष नारायण बरालको अध्यक्षतामा खोलानाला अतिक्रमण छानवीन उपसमिति पनि गठन गरेको थियो ।
समितिले वडा नम्बर ४ र ५ को सुकुटी नालाअन्तर्गत कैलाली पुलदेखि हसनपुरको सामुदायिक प्रहरी रहेको क्षेत्रसम्म अतिक्रमणको रेखांकन पनि गरेको थियो । ३७ जनाले खोला अतिक्रमण गरेको पाइएको थियो । खोला व्यक्तिमा नाममा भएपछि त्यहाँ बनेका संरचनाका कारण पानीको निकास रोकिएर धनगढीमा डुबानको समस्या निम्तिएको कतिपयको तर्क छ ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख शिखर लामा तामाङ भन्छन्, ‘डुबानबाट बच्नका लागि सबैभन्दा पहिले पानी निकास हुने बाटो क्लिएर हुनुपर्छ । खोलामा कुनै पनि किसिमको अवरोध हुँदा पानी जमेर डुबानको समस्या निम्तिन्छ ।’
पछिल्लो समय निर्माण गरिएका सडकले पनि धनगढीमा डुबानको समस्या बढाएको तर्क तामाङको छ । ‘सडक सबै उच्चो भए, बस्ती होचा भए,’ उनले भने, ‘त्यसले पनि डुबानको समस्या निम्त्याएको छ ।’ धनगढीमा पछिल्लो समय बनेको मोहनापुल अत्तरिया छ लेन सडक, मुख्य सडक र अन्य भित्री सडकको उचाई बस्तीभन्दा बढी हुँदा बस्तीमा पानी जम्न थालेको हो ।
डुबानबाट जोगाउन ढल निर्माण
धनगढी उपमहानगरपालिकालाई डुबानबाट जोगाउन अहिले ढल निर्माण भइरहेको छ । मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भिस लेनमा ढल निर्माण भइरहेको हो । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार साढे १३ करोडमा ढल निर्माणका लागि दुई प्याकेजमा काम भइरहेको छ ।
कार्यालयका तामाङका अनुसार मोहनापुलदेखि धनगढीको राजपुरसम्म नाली बनाएर बस्तीको पानी मोहना नदीमा फाल्ने लक्ष्य छ । ‘अहिलेलाई मोहनापुलदेखि चौराहसम्म मात्रै नाली निर्माण गर्ने योजना सुरु भएको छ,’ उनले भने, ‘छ लेनको एकतर्फ एक हजार ४५९ मिटर र अर्कोतर्फ एक हजार ३६५ मिटर नाली निर्माण भइरहेको छ ।’ दुवै योजनाको निर्माण सम्झौता २० असार २०८१ भएकोमा १६ वैशाख २०८३ मा निर्माण सम्पन्न मिति रहेको छ । नाली निर्माणको काम सम्पन्न भएपछि धनगढी उपमहनगरपालिका–२ र ३ मा हुने डुबानको समस्या निराकरण हुने अपेक्षा गरिएको तामाङले बताए ।
हुन त यसअघि मोहनापुल–अत्तरिया सडकमा पनि नाली निर्माण भएको छ । तर, उक्त नालीले बस्तीको पानी भने निकास गर्न सकिरहेको छैन । ‘उक्त नाली बाटोको पानी निकासका लागि मात्रै भयो,’ संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख तामाङले भने, ‘त्यो नाली बस्तीभन्दा उचाइमा निर्माण गरिएकाले बस्तीको पानी निकास हुन पाएन । सोही कारण नयाँ नाली निर्माण गर्न थालिएको हो ।’
डुबानको समस्या निराकरणका लागि यसअघि छ लेन सडककै छेउमा प्लास्टिक पाइप पनि विस्तार गरिएको थियो । तर, ती पाइपले समस्या समाधान नभएपछि अहिले निकाल्न थालिएको छ ।
प्रतिक्रिया