डडेल्धुरा । डोटेली राज्यको इतिहास बोकेको अजयमेरु कोटको पुनर्निर्माणको काम सुरु गरिएको छ । सुदूरपश्चिमकै मुख्य पर्यटकीय गन्तव्य बनाउने उद्येश्यसहित अजयमेरु गाउँपालिकाले कोटको पुनर्निर्माण सुरु गरेको हो ।
गाउँपालिकाको ७८ लाख रुपैयाँ लागतमा दरबारको पुनर्निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाले ९० लाख रकम विनियोजना गरेपछि गत फागुन महिनामा पुरातत्व विभागले खण्डहरुका रुपमा रहेको दरबारको उत्खनन् गरेको थियो । उत्खननमा देखिएको दरबारको शैलीअनुसार पुनर्निर्माणको काम गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्राविधिक रतन ऐरका अनुसार दरबरको जगसम्मै उत्खनन् गरी पुनर्निर्माण गर्न लागिएको छ । त्यसका लागि दक्ष कालिगढ भक्तपुरबाट ल्याउने तयारी गाउँपालिकाको रहेको ऐरले बताए ।
दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाई भएका पर्खालहरु निर्माण गरिने छन् । उत्खनन् र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको थियो । बिचमा गल्लि, एकातिर तीन र अर्काे तिर चार कोठा गरी भूई तलामा सात र माथि जाने ढुङ्गाको सिंढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मूख्य दरबार रहेको हुनसक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबारसंँगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरी १० वटा ढुङ्गे संरचना भएको भेटिएका थिए ।
उत्खननका समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवम् पुरातत्वविद भाष्कर ज्ञवालीले डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको देखिएको बताएका थिए । उनका अनुसार अजयमेरु कोटको बिशिष्ट कलाकृती र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरुभन्दा फरक रहेको छ । त्यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउलाहरु विशिष्ट किसिमका छन् । ‘यो नेपालकै उत्कृष्ट कलाकृतिका रुपमा रहेको छ,’ उनले भनेका थिए ।
उनका अनुसार अजयमेरुमा थुप्रै किसिमका १३औँ, १४औँ शताब्दिका कोटदेखि लिएर किल्लाको रुपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरु, डबलीहरु, सुरक्षा गर्न बनाइएका टावरहरु, रानी गुफा, कुवाहरु र राज दरबारसँग सम्बन्धित थुप्रै ढुङ्गे संरचनाहरु छन् ।
यसैसँग जोडिएको हाट गाउँमा ढुङ्गे देवलहरु, मण्डली र नाउलाहरु रहेका छन् । कोट आफैँमा सार्वजनिक स्वमित्वमा रहेको छ । तर, हाट गाउँमा रहेका ढुङ्गे देवलहरु, नाउला र मण्डलीहरु नीजि स्वामित्वमा रहेका छन्
प्रतिक्रिया