ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
आशाको सञ्चार

फोहोर व्यवस्थापनमा धनगढी : आम्दानी र सम्मानको भागेदार

बिहिबार ०५, असार २०८२ ०५:२७

धनगढी । नगर क्षेत्रमा उत्पादन भएको फोहोर व्यवस्थापन गर्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले आम्दानी गर्नुका साथै सम्मानको भागेदार पनि भएको छ । आठ लाखदेखि १० लाख मानिसको बसोबास हुँदै आएको धनगढीमा दैनिक ५६ टन उत्पादन हुने फोहोर व्यवस्थापन गरी उपमहानगरपालिकाले जिरो वेष्ट नेटवर्क सिटीको संस्थापक सदस्यको रुपमा अवार्डेड भएको छ । 

ग्लोबल एलाइन्स फर इन्सिनेरेटर अल्टरनेटिभ्स् (जिएआईए)ले धनगढीले नगरक्षेत्रमा उत्पादन हुने नगरजन्य फोहोर व्यवस्थापन गर्न सफल भएकोमा सो नेटवर्क गठनको संस्थापक सदस्यता दिएको हो । 

गतआर्थिक वर्षमा फोहोर संकलन गरी रिसाइकल गर्न मिल्ने फोहोर बेचेर २५ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको उपमहानगरपालिकाका इञ्जिनियर अशोक अवस्थीले बताए । उनले चालुआर्थिक वर्षदेखि ७२ लाख रुपैयाँमा फोहोर संकलन र व्यवस्थापनका लागि निजी क्षेत्रलाई ठेक्का दिइएको उनले बताए । उनका अनुसार ठेक्का रकम हरेक वर्ष १० प्रतिशतका दरले बृद्धि हुने छ ।

ठेक्का लगाइएपछि धनगढी उपमहानगरपालिकालाई फोहोर संकलनको भार समेत घटेको छ । वडा नम्बर १ देखि ९ सम्म निजी पार्टनरले फोहोर संकलन गर्छ भने बाँकी वडा उपमहानगरपालिकाले संकलन गरेर व्यवस्थापन गर्न निजी पार्टरलाई दिन्छ । ‘गतआर्थिक वर्षमा फोहोर संकलनका लागि कर्मचारी, गाडी लगायत सम्पूर्ण व्यवस्थापनमा चार करोड खर्च भएको थियो,’ इञ्जिनियर अवस्थीले भने, ‘यो खर्च यसवर्ष कटौति भएको छ । अघिल्लो वर्षहरुमा ५६ टन फोहोर उपमहानगरपालिकाले संकलन नै गथ्र्यौ । अब ४३ टन फोहोर निजी पार्टनरले संकलन गर्छ । १३ टन फोहोर उपमहानगरपालिका आफैले संकलन गर्छ । उपमहानगरपालिकाबाट नकुहिने फोहोेर मात्रै आउछ । त्यो सबै फोहोर निजी क्षेत्रले व्यवस्थापन गर्छ ।’

कुहिने फोहोरबाट मल र ग्यास उत्पादन
धनगढी उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र देव तालिम केन्द्रको साझेदारीमा धनगढीको वडा नम्बर २ सन्तोषी टोलमा बायो ग्यास प्लान्ट जडान गरिएको छ । तालीम केन्द्रले प्लान्टमा फोहोर प्रयोग गरी फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गरिरहेको छ । दैनिक ६० सिलिण्डर ग्यास उत्पादन भइरहेको उपमहानगरपालिकाले जनाएको छ । सोही क्षेत्रमा कुहिने फोहोरबाट दैनिक अढाई टन कम्पोस्ट मल पनि उत्पादन भइरहेको छ । 

बायोग्यास प्लान्टमा दैनिक १८ टन फोहोर खपत हुने गरेको छ । घरबाट निस्कने तरकारी, खानाजन्य फोहोर, सडेगलेका फलफूल, गोबर, कुखुराको सुलीलगायत कुहिने फोहोर प्रयोग गरेर बायोग्यास प्लान्टले बायोग्यास र गोबर मल उत्पादन गर्दै आएको हो ।

धनगढी उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्ने नीति पहिलेदेखि भए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो केही वर्ष यता फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने विषयले प्राथमिकता पाएको र जनप्रतिनिधिले समेत यस विषयलाई प्राथकिता दिएको कारण उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापनले सफलता पाएको इञ्जिनियिर अवस्थीले बताए । उनले फोहोर व्यवस्थापनको चार पिलर (नीति, बजेट, भौतिक पूर्वाधार र जनचेतना) लाई एक्टिभ बनाएर फोहोरमैला व्यवस्थापनमा सफलता प्राप्त भएको बताए ।

फोहोर व्यवस्थापनमा सघाउनेलाई समेत सम्मान
फोहोर व्यवस्थापनका लागि जनचेतनालाई उपमहानगरपालिकाले पहिलो सर्तको रुपमा प्रयोग गरिरहेको छ । वडा वडामा जनचेतनाका लागि सहजकर्ता परिचालन गरेको छ भने टोलटोलमा टोल सरसफाई समिति गठन गरिएका छन् । घरदेखि विद्यालयसम्म फोहोरमैला व्यवस्थापन सम्बन्धी जनचेतना र सहभागिता गराउने नीति अनुरुप उत्कृष्ट, अनुकरणीय कार्य गर्ने सरसफाई समिति, शैक्षिक संस्था (निजी र सरकारी) र ईको क्लबलाई पुरस्कृत गर्ने कार्यक्रम बनाएको छ ।

सो कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले १०औं स्थापना दिवसको अवसरमा ‘हाम्रो धनगढी सफा धनगढी’ अभियानमा सहभागी भई गतवर्ष समुदायस्तरमा जनचेतना फैलाउन उत्कृष्ट कार्य गरेबापत धनगढी वडा नम्बर २ को आदर्श टोल सरसफाई समितिलाई १० लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रम, ट्रफी र सम्मान पत्रबाट सम्मानित गरिएको छ । सरसफाईमा उत्कृष्ट काम गरेबापत् वडा नम्बर १६ को बेहडाबाबा मावि र वडा नम्बर ६ को राइजिङ स्टार इंगलिश स्कुललाई पाँच लाख रुपैयाँ नगद, ट्रफी र सम्मान पत्रबाट सम्मानित गरेको थियो ।

फोहोरको पुनः प्रयोग र पुनः प्रशोधन गर्ने कार्यको विजिनेश मोडल तयार गरी लागु गर्ने कार्यमा उपमहानगरपालिका अग्रसर रहेको धनगढीका नगरप्रमुख गोपाल हमालले बताए । उनले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रशोधन केन्द्र सञ्चालन गर्नका लागि कानुन निर्माण गरी नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रसंग जोडिने बताए । 

उनले प्रविधिमा आधारित फोहोरमैलाल व्यवस्थापन प्रणाली उपयोग गरी उपमहानगरको फोहोरमैलाको दीगो व्यवस्थापन गर्न आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालन गर्न छुट्टै परियोजना गठन गरी जिरो वेष्टको अवधारणा कार्यान्वयन गरिने नीति धनगढीले लिएको बताए ।

उपमहानगर क्षेत्रमा प्लाष्टिक निषेध गरेको धनगढीले प्लाष्टिक बोटल कलेक्सन मेसिन जडान गर्ने, सार्वजनिक स्थानमा शौचालय स्तरोन्नति गर्ने, कन्ज्युमर डाटाबेस सिस्टम, सोलिड वेष्ट म्यानेजमेन्टर इन्फरमेशन सिस्टम र एनवास डेटाबेस सिस्टम तयार गर्ने, दीसाजन्य लेदो व्यवस्थापनका लागि कानुन बनाउने, सहतको पानीका स्रोतहरुको संरक्षण गर्ने लगायतका नीति धनगढीले लिएको छ । 

नेपाल सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रमद्वारा धनगढीको वडा नम्बर ७ पटेलामा निर्माण भइरहेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र दिशाजन्य लेदो व्यवस्थापन प्रणाली निर्माण भइरहेको छ । सो निर्माण सम्पन्न भई उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि फोहोरमैला व्यवस्थापन सम्बन्धी धेरै समस्या समाधान हुने उपमहानगरले जनाएको छ ।
 

प्रतिक्रिया