ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको जानकी गाउँपालिकाका यस्ता छन् असल अभ्यास

बिहिबार १२, असार २०८२ ०१:२१

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना असल अभ्यासबारे जानकारी दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले असल अभ्यासका बारेमा जानकारी दिएका हुन् । उनले गाउँपालिकाले सम्पन्न गरेका असल अभ्यासका कारण कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुन पुगेको बताए । 

उनले स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा कैलाली जिल्लाका १३ पालिकामध्ये जानकी गाउँपालिका दोस्रो भएको बताए । उनले अस्पताल नभएका कारण स्वास्थ्य सेवाले गर्दा मूल्यांकनमा पहिलो हुनबाट गाउँपालिका चुकेको जानकारी दिए । 

उनले सामुदायिक विद्यालयमा मासिक स्वास्थ्य शिक्षा कार्यक्रम लागू गरिएको जानकारी दिए । सो कार्यक्रमका लागि गाउँपालिकाले दुईजना स्टाफ नर्सको व्यवस्था गरेको छ । ती स्टाफ नर्सले विद्यालयमा स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिने गरेको बताइएको छ । 

त्यस्तै असल अभ्यासअन्र्तगत नै विद्यालयमा करेसाबारी निर्माण गरिएको छ । ‘जंक फुड’ विस्थापित गर्ने उद्देश्यले विद्यालयमा करेसाबारी कार्यक्रम लागू गरिएको बताउँदै चौधरीले यो कार्यक्रम चालु आर्थिक वर्षमा चार वटा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको जानकारी दिए । 

सोही अवसरमा गाउँपालिकाले विद्यालयमा विद्यार्थीहरुलाई लोकसेवा र शिक्षक सेवा आयोगका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम लागू गरेको बताइएको छ । उनले कृषि मेला सञ्चालन गरेर कृषकको आयआर्जनमा गाउँपालिकाले सहयोगी भूमिका निर्वाह गरेको बताए । उनले कृषि मेला सञ्चालन भएपछि धेरै व्यक्तिहरु कृषि पेशातर्फ आकर्षित भएको बताए । 

उनले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेर किसानलाई राहत पुर्याइएको बताए । उनका अनुसार गाउँपालिकाले गहुँ बालीमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ । 

त्यस्तै विपदका क्षेत्रमा समेत गाउँपालिकाले उत्कृष्ट अभ्यासहरु सञ्चालन गरेको चौधरीले जानकारी दिए । उनले गाउँपालिकाले विपदको समयमा हरेक घरमा सूचना पुर्याउने उद्देश्यले पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन गरेको बताए । गाउँपालिकाले विपदको समयमा कसरी जोगिने भन्ने बारेमा सशस्त्र प्रहरी सँगको सहकार्यमा १८ दिने तालिम सम्पन्न गरेको छ । 

उनले कर्मचारीहरुकाबिचमा सौहार्द वातावरण होस् भन्ने उद्देश्यले हरेक महिनाको ७ गते कर्मचारी कार्य सहजिकरण बैठक सञ्चालन हुने जानकारी दिए । उनले कर्मचारी र जनप्रतिनिधिहरुकाबिचमा पनि त्यस्तै वातावरण होस् भनेर वर्षको दुई पटक यस्तै बैठक हुने गरेको बताए । 

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष गणेश चौधरीले आगामी कार्यक्रमका बारेमा जानकारी दिए । उनले गाउँपालिकाको प्रशासनिक भवन निर्माण, वडा नम्बर ६ मा १५ शय्याको अस्पताल स्थापना,  वडा नम्बर ४ मा हरियाली गाउँपालिकाअन्र्तगत नर्सरी स्थापना, गाउँ शिक्षा योजना, दूधमा पनि उत्पादनमा आधारित अनुदान कार्यक्रम, विभिन्न ठाउँमा होमस्टे सञ्चालन गर्ने कार्यक्रम रहेको बताए । 

उनले लम्कीचुहा नगरपालिकासँगको सीमा विवादका बारेमा पत्रकारले सोधेको जिज्ञासामा नगरपालिकाले अनावश्यक विवाद निम्त्याएको बताए । उनले साविकको पथरैया गाविसको सीमा नै गाउँपालिकाको सीमा भएकाले सोही अनुसार समस्याको समाधान हुनुपर्ने बताए ।

‘साविकको पथरैया गाविस कहाँसम्म छ ? त्यो हेरे आफै प्रष्ट हुन्छ,’ उनले भने, ‘त्यहाँका बासिन्दाले पनि धेरै कुरा प्रष्ट भन्न सक्छन् । उनीहरुको कुरा पनि सुन्नुपर्छ ।’

उनले जिल्ला समन्वय समितिले भनेको आधारमा लम्कीचुहा नगरपालिका सीमा विवादको समाधान खोज्न तयार नभएकाले समस्या ठुलो देखिएको बताए । 
 

प्रतिक्रिया