ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका दुई विद्यालयको एसईई नतिजा शून्य, कैलालीभर १० विद्यालय नील

आइतबार १५, असार २०८२ ०३:४५

धनगढी । कैलाली जिल्लाका १० वटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शून्य आएको छ । १० वटै विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका एक सय ७९ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी ननग्रेडेड भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई कैलालीका सूचना अधिकारी प्रतापसिंह धामीले भजनी नगरपालिकाका तीन, धनगढी उपमहानगरपालिकाका दुई, मोहन्याल गाउँपालिकाका दुई, जोशीपुर, घोडाघोडी र कैलारी गाउँपालिकाका एक-एक विद्यालयको नतिजा शून्य आएको जानकारी दिए । 

धामीका अनुसार धनगढी उपमहानगरपालिका–१० जुगेडामा रहेको जनकल्याण मावि र वडा नम्बर ७ मा रहेको शिव मावि देवहरीयाको नतिजा नील आएको छ । जनकल्याण माविबाट तीन र शिव माविबाट सात जनाले एसईई परीक्षा दिएका थिए । 

यस्तै भजनी नगरपालिकामा रहेका कृष्णध्वज मावि गोडीचौरा, राष्ट्रिय मावि धुसी र राष्ट्रिय मावि पल्टुपुरबाट एसईई दिएका सबै विद्यार्थी पनि माथिल्लो कक्षामा पढ्न नपाउने गरी ननग्रेडेड भएका छन् । ती विद्यालयबाट क्रमसः २५, १५ र २६ जनाले एसईई परीक्षा दिएका थिए । 

यस्तै मोहन्याल गाउँपालिकाका भृकुटी मावि खिमडी र भैरवमाला मावि सुगरखालको नतिजा पनि शून्य आएको छ । भृकुटी माविबाट ३४ र भैरवमाला माविबाट १४ जनाले एसईई दिएका थिए । 

२५ जनाले एसईई दिएको कैलारी गाउँपालिकास्थित राष्ट्रिय मावि भुइयाफाटा, २२ जनाले एसईई परीक्षा दिएको घोडाघोडी नगरपालिकाको विराट सनातन धर्म मावि सुख्खड र १८ जनाले परीक्षा दिएको जोशीपुर गाउँपालिकास्थित राष्ट्रिय मावि लकडमण्डीको नतिजा पनि शून्य आएको समन्वय इकाईका सूचना अधिकारी धामीले बताए । 

यस्तै सामुदायिक विद्यालयमा कैलाली जिल्लाभर एक विद्यालयले मात्रै शत प्रतिशत नतिजा ल्याएको छ । धनगढी उपमहानगरपालिका– १४ फुलवारीमा रहेको सर्वोदय माविबाट एसईईमा सहभागी भएका १५ जना विद्यार्थीमा सबै उत्तीर्ण भएका छन् । 

प्रतिक्रिया