ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका अशोकले एसईईमा ल्याए ४ जीपीए, आमालाई सुनाउन नपाउँदा छन् दुखी

शनिबार १४, असार २०८२ १२:५७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका अशोक अवस्थीकी आमा पार्वतीले संसार छोडेको शुक्रबार १५ दिन पुग्यो । १५ दिनको पुण्य तिथी चलिरहँदा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक ग¥यो । जुन परीक्षा अशोकले पनि दिएका थिए । 

मातृशोकमा रहेका अशोकले परीक्षामा ४ जीपीए ल्याए । तर, त्यो खबर आमालाई सुनाउन सक्ने अवस्थामा थिएनन् उनी । ‘मैले ४ जीपीए नै ल्याउँछु भन्ने विश्वास आमालाई थियो,’ अशोक भन्छन्, ‘तर, ४ जीपीए ल्याएको खबर सुन्ने बेला आमा हुनुहुन्न । जहाँ भए पनि खुसी हुनुहुन्छ जस्तो लाग्छ ।’

अशोककी आमा पार्वती कैलालीको गोदावरी नगरपालिकास्थित शारदा माविमा शिक्षिका थिइन् । जेठ अन्तिम साता सपर्कको टोकाइबाट उनको मृत्यु भएको थियो । 

अशोक सामुदायिक विद्यालयतर्फ ४ जीपीए ल्याउने कैलालीका एक्ला विद्यार्थी हुन् । धनगढी उपमहानगरपालिका– ३ बोराडाँडीस्थित त्रिभुवन माविमा अशोक अंग्रेजी माध्यमका विद्यार्थी थिए । उनी भन्छन्, ‘१ कक्षादेखि ४ कक्षासम्म बोर्डिङ स्कुलमा पढेको हुँ । त्यसपछि त्रिभुवनमा अध्ययन सुरु गरेको थिए । तर, तल्लको कक्षाहरुमा म पढ्नमा धेरै अब्बल भने थिएन ।’

कक्षा ८ को नगरस्तरीय परीक्षमा नतिजा उत्कृष्ट आएपछि एसईईमा पनि ४ जीपीए ल्याउने गरी नै मेहेनत गरेको अशोकले बताए । ‘कक्षा ८ को नतिजमा ३.६८ जीपीए ल्याएर सामुदायिक विद्यालयको छात्रतर्फ टप भएको थिए,’ अशोकले भने, ‘त्यो बेला सम्मान पनि गरिएको थिए । त्यसपछि पढाइमा झन धेरै ध्यान केन्द्रित गरेको हुँ ।’

आफ्नो मात्रै मेहेनतले नभई परिवार र विद्यालयको सहयोगले एसईई परीक्षामा उत्कृष्ट नतिजा आएको अशोकको भनाई छ । ‘मेरो नतिजाको पछाडि त्रिभुवन मावि र परिवारका सदस्यमको भूमीका पनि मेरो जत्तिकै छ,’ उनले भने । 

एसईईको नतिजाले उत्साहित अशोकले अब विज्ञान संकाय लिएर अध्ययन अगाडि बढाउने तयारी रहेको सुनाए । ‘अहिले नै कता पढ्ने भन्ने टुंगो त लागेको छैन,’ उनले भने, ‘परिवारको सल्लाहअनुसार नै पढाइलाई अगाडि बढाउँछु ।’

जुम्ल्याहा बहिनी अस्मिताले पनि अशोकसंगै एसईई परीक्षा दिएकी थिइन् । उनले पनि एसईईमा  ३.६१ जीपीए ल्याएकी छिन् । 

एसईई परीक्षामा अशोक र अस्मिताले पाएको सफलता देखेर शोकमै रहेको अवस्थामा पनि अवस्थी परिवारमा थोरै खुसी ल्याएको छ । ‘दुबै (नाती र नातनी) पढाइमा अब्बल छन्,’ अशोकका बाजे लोकराज अवस्थीले भने, ‘दुबैको नतिजाले हामीलाई पनि खुसी दिएको छ ।’ लोकराज नेपाली काँग्रेस सुदूरपश्चिमका उपसभापति हुन् ।

प्रतिक्रिया