धनगढी । सोमबार राति कैलाली कारागारका एक कैदीबन्दीको मृत्यु भयो । बैंकिङ कसुरमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीसिंह पालीको मृत्यु भएपछि आफन्त हत्याको आरोप लगाइरहेका छन् ।
पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले २९ जेठमा जिल्ला सदरमुकामबाटै पक्राउ गरेको थियो । एक दिन थुनामा राखेर ३० गते कैलाली प्रहरीलाई बुझाएको डडेल्धुरा प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले बताए । कैलाली प्रहरीले भने १ गते मात्रै पालीलाई कैलाली कारागारमा बुझाएको थियो । ‘१ गते साँझ ६ बजे उहाँ (पाली)लाई ल्याइएको थियो,’ कैलाली कारागारका जेलर बसन्त खत्रीले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार राति पाली एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पु¥याइएको थियो । अस्पताल पु¥याएको आधा घण्टामै उनको मृत्यु भएको डीएसपी सिंहले बताए । ‘जाहेरी नआउँदा अहिलेसम्म शवको पोस्टमार्टम पनि भएको छैन,’ डीएसपी सिंहले भने, ‘पोस्टमार्टम भएपछि घटनाबारे अनुसन्धान अगाडि बढ्छ ।’
यता मृतक पालीका आफन्त र परिवारका सदस्यले भने पालीको प्रहरीबाटै हत्या भएको आरोप लगाएका छन् । ‘प्रहरीका सई हरिजित नाथले पटकपटक फोन गरेर धम्की दिँदै आएका थिए,’ मृतककी श्रीमती जानकी साउँदले भनिन्, ‘डडेल्धुरा प्रहरीले पनि पक्राउ गर्दा मलाई जानकारी दिएन । त्यहाँबाट पनि निजी गाडीमा राखेर धनगढी पुगाइएको रहेछ । मेरो श्रीमानको प्रहरीले नै कुटपिट गरेर हत्या गरेको हो ।’ साउँदले आफ्नो श्रीमानमाथि सई नाथकै योजनामा कुटपिट गरेको आरोप लगाइन् ।
प्रहरीका सई नाथको कनेक्सन के हो ?
कैलालीको धनगढी उपमहानगरपालिका– ३ का प्रहरी सहायक निरीक्षक (सई) हरिजित नाथ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन् । ०८० भदौ २७ गते सई नाथले पालीविरुद्व बैंकिङ कसुरमा मुद्वा दिएका थिए । ‘प्रतिवादी हरीसिंह पालीले व्यापार व्यवसायका लागि रूपैयाँको समस्या परेको भन्दै एक १ महिनामा भाखा राखेर दुई लाख रुपैयाँ सापटी मागेका थिए,’ जाहेरीमा सई नाथले उल्लेख गरेका थिए, ‘०७९ जेठ २८ गते चेक दिएका थिए । उक्त चेकको रकम जम्मा गर्न जाँदा निजको खातामा पर्याप्त रकम थिएन ।’
नाथको जाहेरीपछि ०८० फागुन २९ गते कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा पालीलाई दुई बिगोबमोजिम (दुई लाख) जरिवाना र १० दिन कैदको फैसला भएको थियो ।
फैसला कार्यान्वयनकै क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेपछि पालीका आफन्त जगदिश रावलले २ गते प्रहरी नायब निरीक्षक नाथको खातामा ८५ हजार रुपैयाँ जम्मा पनि गरेका थिए ।
कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दे सत्यतथ्य छानबिनको माग गरेका छन् । मृतकका पालीको शरीरभरि निलडा भएको भिडियो पनि सार्वजनिक भएको छ, उनले भने, ‘बिरामी व्यक्तिको शरीरमा कहाँबाट निलडाम भयो ? हामी किटानी जाहेरी दिने तयारीमा छौं ।’
यता सई नाथले भने मृतक पालीका आफन्तले लगाएको आरोपमा कुनै सत्यता नभएको बताए । ‘ पुरानो चिनजानको आधारमा पालीलाई दुई लाख रकम दिएको थिए, उनले फिर्ता नदिएपछि मुद्वा दायर गरेको हुँ,’ उनले भने, ‘अदालतको फैसलाअनुसार पाली पक्राउ परेका हुन् । मैले उनीमाथि कुटपिट गर्ने कुनै कारण नै छैन ।’
यता, पीडित पक्षले दिएको जानकारीअनुसार नाथसंग पालीले दुई लाख रकम लिएको कुरामै सत्यता छैन । ‘पाली कस्मेटिक व्यापारी हुन्, उनले भारतबाट सामान पनि ल्याउने गरेका थिए,’ एक आफन्तले भने, ‘सामानबापतको रुपैयाँ पालीले दिन नसकेपछि उक्त रकम असुली गराउन नाथ लागेका थिए । सोही कारण नाथकै नाममा पालीले चेक दिएका हुन् ।’
छानबिन समिति गठन
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले छानबिन समितिमा प्रहरी, राष्ट्रिय अनुसन्धान र पीडित पक्षलाई पनि राखिएको छ । ‘प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेकै छ,’ सिडिओ हमालले भने, ‘हामीले पनि छानबिन समिति बनाएर काम अगाडि बढाएका छौं ।’
छानबिन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी जोशीसंगै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक राजकुमार सिंह पनि रहेका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालयको मुद्वा शाखका प्रहरी निरीक्षक र हवल्दार, राष्ट्रिय अनुसन्धानबाट एक जना अधिकारी तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लोकराज भट्ट पनि छानबिन समितिमा सदस्य छन् । छानबिन समिति गठन भएसंगै डडेल्धुरामा विहानदखि ठप्प पारिएको राजमार्ग र बजार खुलेको छ ।
प्रतिक्रिया