धनगढी । बिहीबार कैलालीको भजनी नगरपालिका– ७ को वन क्षेत्रमा प्रहरीले दुई जनामाथि गोली चलायो । टीकापुर नगरपालिकाका रिदम ढुंगाना र धनगढी उपमहानगरपालिकाका मिलन चन्दमाथि प्रहरीले गोली चलाएको थियो ।
कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहले दुबै जनाले भाग्न खोजेपछि प्रहरी गोली चलाउन बाध्य भएको दाबी गरे । ‘कैलारी गाउँपालिका–३ शिवरन्तपुरबाट पक्राउ परेका ढुंगाना र चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले बिहीबार अग्रलेखसंग भनेका थिए, ‘बाटोमा पिसाब फेर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको हो । गोली लागेर दुबै जना घाइते भएपछि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।’
दुबै जना टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्रसिंह बिष्टमाथि खुकुरी प्रहार गरेको घटनाका आरोपित छन् । १५ जेठमा बिष्टमाथि खुकुरी प्रहार भएकोमा चन्द र ढुंगाना सोही दिनदेखि फरार थिए । बिष्ट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् ।
बिहीबारको घटनामा भने प्रहरीको भूमीका नै शंकास्पद देखिएको छ । प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीको नेतृत्वमा वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी नायब निरीक्षक दीपेन्द्र किमाडी र प्रदेश प्रहरी कार्यालयमै कार्यरत प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंहसहितको टोली चन्द र ढुंगानाको खोजीका लागि भारत गएकाे थियाे ।
‘भारतीय भूमीबाटै त्यहाँको प्रहरीको सहयोगमा चन्द र ढुंगाना पक्राउ परेका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘कैलारी गाउँपालिका हुँदै टीकापुर लैजाने क्रममा गाडीबाट दुबै जनालाई उतार्दै गोली हानिएको हो । प्रहरीलाई गिरफ्तारी दिइसकेका चन्द र ढुंगानाले भाग्न खोजेको खबर गलत हो ।’
टीकापुर र आसपासका क्षेत्रमा विगतदेखि नै जघन्य प्रकृतिका अपराधिक गतिविधि हुँदै आएका छन् । प्रहरीले त्यस्ता गतिविधिमा संलग्नलाई तर्साउन चन्द र ढुंगानामागि गोली चलाएको स्राेतकाे दाबी छ ।
परिवारका सदस्यले भेट्न पाएनन्
चन्द र ढुंगानामाथि प्रहरीले नै गोली चलाएको खबर पाएपछि बिहीबार नै चन्दका आफन्त सेती प्रादेशिक अस्पताल पुगे । चन्दका दाई सुदिप चन्द भन्छन्, ‘पटकपटक भेट्नका लागि आग्रह गर्दा पनि माथिबाट भेट्न नदिने आदेश छ भनियो । शनिबार भेट्न दिने भनिएको थियो, तर शनिबार अस्पताल र प्रहरी कार्यालय पुग्दा टीकापुर पठाइसकेको जवाफ पाएका छौं ।’
यता इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले भने चन्द र ढुंगाना धनगढीमै रहेको बताए । कैलाली प्रहरी प्रमुख एसपी बाल नगरसिंह राणाले आफूलाई अस्पतालबाट डिस्चार्ज भइरहेको जानकारी गरिएको बताए ।
घटनाबारे एसपी राणाले थप बोल्न मानेनन् । कहाँबाट पक्राउ गरिएको हो ? भन्ने प्रश्नमा एसपी राणाले भने, ‘मेरो प्रवक्ताज्यूलाई सोध्नुहोला ।’ बिहीबार भने अग्रलेखसंग कुरा गर्दै एसपी राणाले कैलारी–३ बाटै पक्राउ गरिएको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी सिंहले कैलारीबाटै पक्राउ गरिएको दोहर्याउँदै भारत टोली गएको विषयमा जानकारी नभएको बताए ।
मानव अधिकार आयोग के भन्छ ?
गिरफ्तारी दिइसकेका चन्द र ढुंगानामाथि प्रहरीबाटै गोली चलेपछि मानव अधिकार हनन् भएको कतिपयको तर्क छ । यता राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय धनगढीका उपसचिव झंकर रावलले घटनाबारे आयोगले चासो दिएको बताए ।
‘घटनाको विषयमा कतैबाट पनि उजुरी त आएको छैन,’ उनले भने, ‘तर, विभिन्न सञ्चारमाध्यममा आएका खबरका आधारमा हामीले पनि प्रहरीमार्फत जानकारी लिइरहेका छौं ।’
प्रतिक्रिया