ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा डीडीसी सार्न थालियो काम, अत्तरियामा विरोध

बुधबार १४, जेठ २०८२ ०३:३३
  • डीडीसीको दुग्ध वितरण आयोजना धनगढी सार्न गतवर्ष माघमै सम्झौता
  • जडिबुटी प्रशोधन केन्द्रमा कार्यालय र कारखाना स्थापना गर्न कोटेसनमार्फत काम सुरु
  • ८ वैशाखदेखि अत्तरियाका स्थानीय बासिन्दाद्वारा अत्तरियास्थित कार्यालयमा तालाबन्दी
  • असुरक्षा देखेपछि कार्यालय प्रमुख लागे काठमाडौं

धनगढी । डेढ दशक अगाडि स्थापना गरिएको दुग्ध विकास संस्थान (डीडीसी)को धनगढी दुग्ध वितरण आयोजना कैलालीको अत्तरियामा छ । आयोजनाले कैलाली, कञ्चनपुर र डोटीका किसानबाट दुग्ध संकलन तथा दुग्धजन्य पदार्थ उत्पादन गरेर बिक्रीको काम गर्दै आएको छ । 

तर, आयोजना कार्यालयमा भने एक सातादेखि तालाबन्दी छ । आयोजनाको कार्यालय र कारखाना सार्ने निर्णयविरुद्व आन्दोलनमा उत्रिएका अत्तरियाका स्थानीय बासिन्दाले ८ वैशाखमा कार्यालयमा तालाबन्दी गरेका थिए । 

०६७ सालमा स्थापना गरिएको दुग्ध वितरण आयोजनाको कार्यालय र प्रशोधन कारखाना कैलालीकै धनगढीमा सार्ने निर्णय भएपछि स्थानीय बासिन्दाले विरोधस्वरुप कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलित स्थानीय बासिन्दाले बुधबार एक घण्टा कारखानामा पनि तालाबन्दी गरे । 

स्थानीय बासिन्दालाई जानकारीसमेत नदिएर एकलौटी रुपमा डीडीसी सार्न थालिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए । उनका अनुसार बिहीबारदेखि सडक आन्दोलन गर्ने तयारी छ । 

‘अत्तरियामा जग्गा अभाव छ भनेर डीडीसी धनगढी सार्न खोजिएको छ,’ उनले भने, ‘हामीले जग्गा उपलब्ध गराउँछौ भनेका छौं । तर, अत्तरियाका भएका सबै उद्योग एकपछि अर्को गर्दै सार्ने काम भएपछि आन्दोलन गर्नुपरको हो ।’ उनका अनुसार डीडीसी सरेपछि अत्तरियाका कयौं नागरिक बेरोजगार बन्ने सम्भावना छ ।


धनगढीमा सार्ने योजना किन ? 
धनगढी दुग्ध वितरण आयोजनाले कैलालीको लम्की क्षेत्र, कञ्चनपुर र डडेल्धुराको भित्री मधेस क्षेत्रबाट दैनिक चार हजार लिटर दुध खरिद गर्दै आएको छ । धनगढी र अत्तरियाबाट भने डीडीसीमा दुध संकलन हुँदैन । 

धनगढी दुग्ध वितरण आयोजना कार्यालयका प्रमुख निरन्जन भट्टराईले अत्तरियामा जग्गा नहुँदा कारखाना र कार्यालय सार्न थालिएको बताए । उनका अनुसार कारखाना र कार्यालय धनगढीमा सार्नका लागि ०८१ माघमै सम्झौता भइसकेको छ । दुग्ध विकास संस्थान र धनगढी उपमहानगरपालिकाबीच भएको उक्त सम्झौता भएको हो ।

‘सम्झौताअनुसार धनगढी–१५ मा निर्माण भएको जडिबुटी प्रशोधन केन्द्रमा कार्यालय र कारखाना स्थापनाको काम पनि अगाडि बढिसकेको छ,’ कार्यालय प्रमुख भट्टराईले भन्छन्, ‘तयारी अवस्थामा रहेका भौतिक संरचनामा कार्यालय र कारखाना स्थापना गर्न कोटेसनमार्फत काम भइरहेको छ ।’

धनगढी–१५ मा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनका लागि दुई करोड ९५ लाखमा ०७५ सालमै भवन निर्माणको काम सम्पन्न भएको थियो । तर, जडिबुटी प्रशोधन केन्द्र सञ्चालन नभएपछि डीडीसीको अत्तरियास्थित कार्यालय सञ्चालन गर्न उपमहानगरले सम्झौता गरेको हो ।

कार्यालय प्रमुख भट्टराईका अनुसार अत्तरियामा कार्यालय, निवास र कारखाना सञ्चालनका लागि भाडामा घर लिइएको छ । ‘हामीले त्यहाँ मासिक ४० हजार भाडा तिर्दै आएका छौं,’ उनले भने, ‘दुग्ध प्रसोधन कारखानको स्थायीत्व र विस्तारका लागि हामीलाई जग्गा आवश्यक थियो ।’

उनका अनुसार अत्तरियामै आयोजनाको कार्यालय र कारखाना स्थापनाका लागि वर्षाैदेखि जग्गा खोजी भइरहेको थियो । ‘जग्गा खोजी गर्दा अत्तरियामा भेटिएन,’ भट्टराई भन्छन्, ‘वन क्षेत्रको जग्गा देखाउन थालिएको थियो । तर, त्यो जग्गा प्राप्तिमा समस्या हुन्छ । हामीले अत्तरियामा जग्गा नपाएपछि कञ्चनपुरको कृष्णपुर क्षेत्रमा पनि जग्गा हेरेका थियौं । त्यहाँ विद्यालयको जग्गा दिने कुरा थियो तर उक्त जग्गा पनि वन क्षेत्रकै रहेको पाइयो । त्यसपछि धनगढीमा तयारी अवस्थामा भौतिक संरचना नै पाइएपछि कारखाना र कार्यालय सार्न लागेका हौं ।’

उनका अनुसार आयोजना धनगढी सरे पनि अत्तरियामा संकलन केन्द्र र बिक्री केन्द्र सञ्चालन गर्ने दुग्ध विकास संस्थानको योजना छ । डीडीसीले २५ वर्षका लागि जडिबुटी प्रशोधन केन्द्रको जग्गा र भौतिक संरचना प्रयोग गर्ने सम्झौता भएको भट्टराईले बताए । 

असुरक्षा देखेपछि कार्यालय प्रमुख लागे काठमाडौं 
डीडीसी सार्ने तयारीका विरुद्व आन्दोलनमा उत्रिएका अत्तरियाका स्थानीय र जनप्रतिनिधि बुधबार आयोजना कार्यालयमा भेला भए । छलफलमा सहभागीहरु कार्यालय प्रमुख भट्टराईसंग आक्रोसित थिए । 

गोदावरी नगरपालिकाका नग प्रमुख वीरेन्द्र भट्ट पनि आक्रोसित भए । भट्टले तालाबन्दीपछि कार्यालय प्रमुख सम्पर्कमा नआएको बताए । ‘तालाबन्दी भएपछि काम गर्ने वातावरण बनाइदिनु प¥यो भनेर प्रहरी र स्थानीय निकायमा आउनुपर्छ नि,’ मेयर भट्टले भने, ‘कति गैरजिम्मेवार मान्छे हो ? घरमा बसेको छ, तालाबन्दी भएको छ, मतलब छैन । सुरक्षा निकायका प्रमुख पनि यहाँ हुनुहुन्छ डीएसपी साप । त्यो (कार्यालय प्रमुख)लाई त धुन्नुपर्छ ।’

छलफलमा सहभागी कतिपय स्थानीय बासिन्दाले कार्यालय प्रमुख भट्टराईलाई कालोमोसो दलेर घुमाउने चेतावनी पनि दिएका थिए । ८ वैशाखमा पनि तालाबन्दी गर्दा स्थानीय बासिन्दाले केही समय कार्यालय प्रमुखलाई थुनेका थिए । 

आन्दोलित स्थानीय बासिन्दाबाट असुरक्षा भएको भन्दे कार्यालय प्रमुख भट्टराई भने काठमाडौं लागेका छन् । ‘कालोमोसो दल्ने र प्रहरी लगाएर धुन्ने धम्की आउन थालेपछि हाकिम साप काठमाडौं जानुभएको छ,’ एक कर्मचारीले भने । कार्यालय प्रमुख भट्टराईले पनि आफू काठमाडौं पुगिसकेको बताए ।

यता गोदावरीका नगरप्रमुख भट्टले भने एकलौटी रुपमा डीडीसी सार्ने तयारी गरिएको र त्यो स्वीकार्य नहुने बताए । ‘जग्गा अभावको समस्या देखाएपछि हामीले जग्गा खोजेर दिने भनिसकेका थियौं,’ मेयर भट्टले भने, ‘तर, एकलौटी रुपमा सार्ने प्रयास गरियो । अहिले त हामीले डीडीसीका लागि उपयुक्त जग्गा खोजी गरेर लेखेर दिइसकेका पनि छौं ।’

प्रतिक्रिया