धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीमाथि डिविजन वन कार्यालय धनगढीको प्रमुख बन्न घुस मागेको आरोप छानविन हुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीको प्रदेश संसदीय दलले माग गरेको छ ।
केही दिन अघि बरिष्ठ डिविजन वन अधिकृत कृष्णदत्त भट्टले लगाएको उक्त आरोप छानविन हुनुपर्ने नेकपाले माग गरेको हो । नेकपा संसदीय दलले बिहिबार दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री शाहले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई भ्रष्टाचारको अखडा बनाएको आरोप समेत लगाएको छ ।
‘त्यस मन्त्रालयका मन्त्रीहरुमाथि आरोप लाग्दा मन्त्रीहरुले राजीनामा दिएर छानविनका लागि सहज बनाउनुपर्ने, तर मुख्यमन्त्रीले सिंहासनमै बसेर ममाथि छानविन गर्नुस् भन्ने कुरा लज्जास्पद छ,’ नेकपा संसदीय दलका नेता खगराज भट्टले भने, ‘मुख्यमन्त्रीज्युले यो विषयमा प्रतिपक्षी सांसद् र सदनमा फेस गर्नुपर्छ ।’
केही दिन अघि बरिष्ठ डिविजन वन अधिकृत भट्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले डिविजन वन कार्यालय धनगढीको प्रमुख रहिरहन पाँच लाख रुपैयाँ मागेको तर आफूले नदिएपछि आफ्नो सरुवा भएको भनेका थिए । उक्त उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।
नेकपा संसदीय दलले बजेट कार्यान्वयन, सेवा प्रवाह, संसद सञ्चालन, कानुन निर्माण लगायतका विषयमा सरकार सुस्त भएको भन्दै विरोध गरेको छ । नेता भट्टले अघिल्लो पटक नेकपा संसदीय दलले सार्वजनिक गरेको १२ बुँदे समस्या समाधान गर्नतर्फ पनि प्रदेश सरकार अग्रसर नभएको बताए । उनले आफूहरुले प्रदेश सरकारसंग सम्वाद गर्न खोजेपनि मुख्यमन्त्री शाहले चासो नदिएको बताए । उनले सरकार प्रदेश सभालाई समेत बन्धक बनाएको आरोप लगाए ।
प्रतिक्रिया