धनगढी । २१ फागुन हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन ।
मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सामाजिक सन्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइने छैन ।
यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।
प्रतिक्रिया