धनगढी । नेपाली कांग्रेसले बिहीबार धनगढी वा अत्तरियामा प्रदेशस्तरको चुनावी सभा राख्ने तयारी गरेको थियो । सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले नेता सम्बोधन गर्ने तयारी थियो । कार्यक्रमको समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य निपा चोखाल लगायतका नेतालाई दिइएको थियो । तर, अन्तिम समयमा आएर कांग्रेसको चुनावी सभा स्थगित भयो । कांग्रेसका केन्द्रीय सदस्य सुनिता रानाले समयको अभाव तथा तयारी अपुग भएका कारण सभा स्थगित गरिएको जानकारी दिइन् । तर, कांग्रेसले सभा स्थगित गर्नुको मुख्य कारण भने शेरबहादुर देउवा फ्याक्टर थियो ।
कांग्रेसको केन्द्रीय समितिले सभाको सहजीकरणका लागि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र पार्टीका प्रदेश सभापति बीरबहादुर बलायरलाई सम्पर्क गरेको थियो । ‘मुख्यमन्त्रीले आफ्नो सभापति शेरबहादुर देउवा भएको र बलायरले चासो नदेखाएपछि आमसभा गर्न केन्द्र तयार नभएको हो,’ कांग्रेस सुदूरपश्चिमका एक नेताले भने । ती नेताका अनुसार कांग्रेसको प्रदेशस्तरीय आमसभा स्थगित हुनुको पछाडि अर्को कारण पनि छ । ‘देउवाको गृहप्रदेशमा उनीबीना अहिलेका सभापति थापा मात्रै आए चुनावमा उल्टो असर पर्छ भन्ने यहाँका थुप्रै उम्मेदवारको निचोड भएका कारण पनि सभा स्थगित गरिएको हो,’ ती नेताले भने ।
आमसभा स्थगितको एउटा विषयले नै सुदूरपश्चिममा कांग्रेसभित्र देउवाको पकड बलियो भएको पुष्टि गर्छ । डडेल्धुराबाट ०४८ सालदेखि ०७९ सालसम्मका हरेक संघीय निर्वाचन जितेका कांग्रेसका निवर्तमान सभापति देउवा आसन्न निर्वाचनमा उम्मेदवार छैनन् । हुन् त उनी अन्तिमपटक डडेल्धुराबाटै निर्वाचन लड्न चाहन्थे । तर, विशेष महाधिवेशनमार्फत नेतृत्व खोसिएपछि निर्वाचन आयोग हुँदै अदालत पुगेका देउवाले मनोनयन दर्ताको अघिल्लो राति चुनाव नलड्ने घोषणा गरेका थिए । उम्मेदवार नरहेको देउवा कांग्रेसको चुनावी कार्यक्रममा पनि कतै देखिएनन् । न कांग्रेस उम्मेदवार जिताउन सार्वजनिक टिप्पणी नै दिएका छन् ।
बुधबार राति भने देउवा उपचारका लागि भन्दै सिंगापुर उडेका छन् । यसले उनी अब मतदानमा पनि सहभागी नहुने लगभग निश्चित भएको छ । अब देउवाबिना आसन्न निर्वाचनमा कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कस्तो नतिजा ल्याउँछ ? त्यो चासोको विषय बनेको छ ।
‘लिडिङ’ हैसियत जोगाउन चुनौती
०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रदेशका १६ मध्ये एक सिटमा मात्रै विजयी भएको थियो, कांग्रेस । डडेल्धुराबाट तत्कालीन पार्टी सभापति देउवाले कांग्रेसको साख जोगाएका थिए । बाम गठबन्धनको बलमा एमालेले ११, माओवादीले तीन र जसपाले एक सिटमा जित निकालेको थियो । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने नेपाली कांग्रेस सुदूरपश्चिममा कमब्यक गर्दै लिडिङ पोजिसनमा पुग्यो । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेका नौमध्ये आठ सिटमा जित निकाल्न सफल भएको थियो, कांग्रेस । सुदूरपश्चिममा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका एक मात्र उम्मेदवार थिए, रामजनम चौधरी ।
तर, २०७९ सालको निर्वाचन जित्ने आठमध्ये एनपी साउँद र पुष्पबहादुर शाहले मात्रै कांग्रेसबाट चुनावी मैदानमा छन् । अन्य १४ उम्मेदवार नयाँ अनुहार छन् । अहिले चुनावी मैदानमा रहेका अधिकांश उम्मेदवार विशेष महाधिवेशन पक्षधर नै छन् । ती उम्मेदवारलाई देउवा पक्षले सहयोग गर्नेमा अझै आशंका देखिन्छ । ‘उम्मेदवारका चुनावी कार्यक्रममा त देउवा पक्षका नेता–कार्यकर्ता पनि देखिएका छन्,’ कांग्रेस कैलालीका एक नेताले भने, ‘त्यो भित्रैबाट समर्थन भएर हो वा देखावटी मात्रै हो, थाहा छैन ।’
देउवालाई सुदूरपश्चिम ल्याएर प्रदेशमा कांग्रेस एकजुट रहेको सन्देश दिने तयारीमा यहाँका उम्मेदवार थिए । त्यसैका लागि उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका उम्मेदवार र केन्द्रीय सदस्यसंग काठमाडौंमा छलफल पनि गरेका थिए । ‘आदरणीय शेरबहादुर देउवाको भौतिक उपस्थितिमै सुदूरपश्चिम प्रदेशभरको भेला कुनै एक ठाउँमा राख्नुपर्छ,’ बाजुरा कांग्रेसका उम्मेदवार जनकराज गिरीका अनुसार छलफलमा नेताहरुले भनेका थिए, ‘त्यो भेलामा सभापति गगन थापाको उपस्थिति पनि हुनुपर्छ । त्यो सम्भव नभए निवर्तमान र वर्तमान सभापतिमार्फत सयुक्त अपिल हुनुपर्छ ।’
तर, देउवाले विशेष महाधिवेशनविरुद्व आफू अदालत गएको बताउँदै त्यही विशेष महाधिवेशनमार्फत आएको नेतृत्वले टिकट दिएका उम्मेदवारको प्रचारमा जान नैतिकताले नदिने आफूलाई भेट्न पुगेका नेताहरुलाई बताउँदै आएका थिए । अब देउवाले कांग्रेस उम्मेदवारको प्रचारमा हिड्ने च्याप्टर नै क्लोज भइसकेको कांग्रेस सुदूरपश्चिमका नेताहरु बताउँछन् । ‘उहाँ सिंगापुर उडेको खबर छ,’ एक नेताले भने, ‘अब मतदानकै लागि पनि आउने सम्भावना देखिन्न । अब उहाँबेगर नै कांग्रेसको विरासत जोगाउने चुनौती थपिएको छ ।’
देउवा बेगर कांग्रेसलाई साविकको सिट जोगाउन सबैभन्दा बढी चुनौती देखिएको छ, देउवाकै गृहजिल्ला डडेल्धुरामा । डडेल्धुरामा सातपटक निर्वाचन जितेका देउवाको अनुपस्थितिमा कांग्रेसले यसपटक नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई मैदानमा उतारेको छ । तर, इच्छा हुँदाहुँदै पनि देउवालाई चुनाव लड्न नदिइएको र महरले टिकट पाउँदा देउवासंग सल्लाह नगरेको भन्दै उनका परम्परागत मतदाता कांग्रेससंग रुष्ट छन् । देउवाले जता संकेत ग¥यो उतै भोट दिने थुप्रै मतदाताको भनाई छ । अब ती मतदाता कता ढल्किन्छन् ? निश्चित छैन । कैलाली– ४ र ५, कञ्चनपुरका तीन वटै क्षेत्र, बैतडी र डोटीमा पनि देउवाको अनुपस्थितिले चुनौती बढाएको कांग्रेस नेताहरुको तर्क छ ।
प्रतिक्रिया