धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक पूर्वमख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् ।
धनगढीमा किराना व्यवसाय सञ्चालन गरिरहेका भट्टले नेकपाबाट टिकट पाएपछि आइतबार नै उम्मेदवारी दर्ताका लागि डोटी पुगेका थिए । उनले एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा डोटी १ (२) बाट निर्वाचित भएपछि प्रदेश सरकारको संस्थापक मुख्यमन्त्री भएका थिए । उनले पहिलो कार्यकालमै पूर्ण कार्यकाल (५ वर्ष) मुख्यमन्त्री भई प्रदेश सरकार सञ्चालन गरेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रबाट टिकट नपाएपछि उनले २०७९ को प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएनन् । दोस्रो कार्यकाल शुरु भएदेखि सुदूरपश्चिम प्रदेशमा चार जना मुख्यमन्त्री फेरिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भट्टसंग डोटीमा नेकपा एमालेका दीपक धामी, नेपाली कांग्रेसका भरबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका मनोज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र बहादुर खड्काले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया