ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डगौराथारू चुनाव लड्न हिंडेपछि टीकापुर नगरपालिका राजनीतिक नेतृत्वबिहीन

मङ्गलबार ०६, माघ २०८२ ०२:१७

धनगढी । कैलालीको टीकापुर नगरापालिकाका नगरप्रमुख रामलाल डगौराथारू चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उक्त नगरपालिका राजनीतिक नेतृत्वबिहीन भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको चुनाव लड्न डगौराथारूले राजीनामा दिएपछि टीकापुर नगरपालिका राजनीतिक नेतृत्वबिहीन भएको हो । यसअघि, टीकापुर नगर विकास समितिको जग्गा अबैध खरिद विक्रीको मुद्दा लागेपछि नगर उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट २०७० को स्थानीय तह निर्वाचनमा नगरप्रमुख भएका डगौराथारू पार्टी एकीकरण पछि नेकपामा सहभागी भएका थिए । नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठले चुनाव नलड्ने घोषणा गरेपछि डगौराथारूको साविकको नागरिक उन्मुक्ति पार्टीको भागमा परेको कैलाली क्षेत्र नं. १ मा डगौराथारूले चान्स पाएका छन् ।

‘खासमा मैलै २०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठ्ने योजना बनाएको थिए,’ उनले भने,  ‘अहिले नै प्रतिनिधि सभाको चुनाव आयो र पार्टीले विश्वास गरेर टिकट दियो । त्यसैले यो नयाँ जिम्मेवारी लिन तयार भएको हुँ ।’

नगरपालिकामा नगर उपप्रमुख समेत नभएकाले डगौराथारूले सोमबार नगरसभालाई सम्बोधन गरी राजनीनामा दिएका थिए । 

नगरविकास समितिको जग्गा हिनामिनामा संलग्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि नगर उपप्रमुख शाह दुई वर्षदेखि निलम्बनमा छन् । उनको मुद्दा किनारा नलागेकाले उपप्रमुखले गर्नुपर्ने धेरै कामहरू अलपत्र परेका छन् भने केही काम नगरप्रमुखले नै गर्दै आएका थिए ।

प्रतिक्रिया