ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

मङ्गलबार ०६, माघ २०८२ १०:०३

धनगढी । प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनको मतदान हुन ४० दिन बाँकी रहँदा देशभरका १६५ निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा पनि आज नै उम्मेदवारी दर्ता हुँदैछ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारी राजनीतिक दलहरुले लगभग उम्मेदवारी टुंग्याइसकेका छन् भने निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याइसकेको छ । हिजोसम्म टिकटका लागि काठमाडौं र विभिन्न ठाउँमा रहेका कतिपय नेताहरु उम्मेदवारी दर्ताका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने कतिपय पुग्ने तरखरमा छन् । आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयहरुलाई उम्मेदवारी दर्ताको समयमा हुने भिड र सुरक्षा व्यवस्थापनका लागि राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नं. ५ ले जारी गरेको सूचनामा उम्मेदवारहरुलाई निर्धारित समयमा आवश्यक कागजात सहित उम्मेदवारी दर्ता गर्न आउन आग्रह गरिएको छ । 

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । उम्मेदवार मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य गरेको छ । 

यसैगरी, उम्मेदवारले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतादाता नामावलीमा नाम रहेको निस्सा, राजनीनितक दलको उम्मेदवारको हकमा दलको औपचारिक पत्र, स्वघोषणा पत्र, वैयक्तिक विवरण, धरौटी राखेको बैंकको भौचर र सम्पत्ति विवरणको सिलबन्दी खाम समेत अनिवार्य पेश गर्नुपर्ने छ । 

उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि अनिवार्य गरिएको छ ।

प्रतिक्रिया