धनगढी । थरुहट आन्दोलन र टीकापुर घटनालाई मुद्दा बनाएर २०७८ पुसमा निर्वाचन आयोगमा दर्ता भएको थियो, नागरिक उन्मुक्ति पार्टी (नाउपा) । कानुनी व्यवधानले आफ्नो नाममा पार्टी दर्ता गर्न नपाएका रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नाममा पार्टी दर्ता गराएका थिए ।
पार्टी दर्ताको चार महिनापछि भएको स्थानीय तह निर्वाचनमा नाउपाले अन्य दलले अपेक्षा गर्नै नसकेको नतिजा ल्यायो । दुई नगरपालिका र दुई गाउँपालिकामा जित निकाल्दै नाउपा जिल्लाकै पहिलो दल बन्यो । त्यसको छ महिनापछि भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि नाउपाको प्रदर्शन उच्च रह्यो । प्रदेशमा पाँच र प्रतिनिधिसभामा तीन सिट जित्दै कैलालीमा दुवैतर्फ पहिलो दल बन्यो नाउपा । प्रदेशसभामा समानुपातिकतर्फ दुई सिट थपिएपछि प्रदेशसभामा नाउपा चौथो ठुलो दल बन्यो ।
पहिलोपटक सहभागी भएको निर्वाचनमै पाएको अनपेक्षिता सफलता र तीन तहका सरकारमा मिलेको अवसरको सदुपयोग गर्न नसक्दा अहिले नागरिक उन्मुक्ति पार्टी छिन्नभिन्न भएको छ ।
श्रीमान्–श्रीमतीबिचको शक्ति संघर्षका कारण नागरिक उन्मुक्तिका संस्थापकहरू नै फरकफरक कित्तामा पुगेका छन् । अध्यक्ष रञ्जिताले नागरिक उन्मुक्तिलाई नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण गर्ने सहमति गरिसकेकी छिन् । रेशमले कबिर सोबको नेतृत्वमा गत २६ कात्तिकमा नागरिक उन्मुक्ति नेपाल नामक अर्को दल दर्ता गराइसकेका छन् । वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितलगायत नेताहरू २१ पुसमा रास्वपातिर लागेका छन् ।
तर, तल्लो तहका नेता/कार्यकर्ता र समर्थक भने अन्योलमा छन् । कतिपय जनप्रतिनिधिसमेत पर्ख र हेरको अवस्थामा छन् । थारू लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारी रेशम र रञ्जिताको व्यक्तिगत महत्वाकांक्षाले नागरिक उन्मुक्ति पार्टी छिन्नभिन्न बनेको बताउँछन् । प्रदेश सांसद रामेश्वर चौधरी आफूहरू अहिले माउविनाको चल्लाजस्तै भएको बताउँछन् । ‘हामी अहिले अन्योलमा छौँ । पार्टी समायोजन कसरी हुन्छ, नयाँमा जाँदा हाम्रो हैसियत के हुन्छ हेर्छौँ,’ उनले भने, ‘केन्द्रीय समितिको पनि निर्णय नआएकाले अहिले केही भन्न सक्ने अवस्था छैन ।’ पार्टी गठनमा २१ जना केन्द्रीय सदस्य थिए । उनीहरूमध्येकै दुई नेता आलोक चौधरी र आसिन चौधरी रेशमको पार्टीमा लागेका छन् । ‘पार्टीका नेताहरू तीनतिर लागे । तल्ला तहका नेता/कार्यकर्ता र समर्थकमा अलमल हुनु स्वाभाविक हो,’ नागरिक उन्मुक्ति कैलालीका एक नेताले भने, ‘पार्टीले उठाएको थारूलगायत समुदायको मुद्दा छोड्यो ।
श्रीमान्–श्रीमतीबिचकै झगडाले पार्टी छिन्नभिन्न अवस्थामा पुग्यो ।’
रेशम जेलमुक्त भएसँगै ०८० पुसमा पार्टीको अधिवेशन गराएर आफू अध्यक्ष बनेपछि दुईजनाबिच विवादको सुरुवात भएको थियो । यद्यपि, रेशम नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएन । रेशमले हालै गठन गरेको नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष कबिर सोब विगतमा नागरिक उन्मुक्ति पार्टीमा जोडिएका नेता/कार्यकर्ता र समर्थक अहिले आफूहरूसँग जोडिन थालेको दाबी गर्छन् ।
प्रतिक्रिया