कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै अग्रसर हुनुपर्ने बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को शुभकामना दिँदै उनले यस दिवसले राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न तथा देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘अनेकौँ स–साना राज्यहरूमा विभक्त भूगोललाई एकीकृत गरी एउटा सबल र आधुनिक राष्ट्र निर्माण गर्ने महान् सङ्कल्पका साथ पृथ्वीनारायण शाहले सुरु गर्नुभएको अभियान ऐतिहासिक रूपमा अतुलनीय छ,’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ ‘नेपाललाई साझा फूलबारी का रूपमा परिचित गराउँदै विविध जातजाति, भाषाभाषी र समुदायबीच भावनात्मक एकताको जग बसाल्ने कार्य नै आजको हाम्रो राष्ट्रिय पहिचानको आधार हो ।’
इतिहासका विभिन्न कालखण्डमा सोही अभियानलाई निरन्तरता दिइएकै कारण विश्वमा एक सार्वभौम र स्वतन्त्र नेपालीका रूपमा शिर उच्च राख्न सफल भएको उनको भनाइ छ ।
‘यस विशेष दिवसले हामी सबैलाई राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न र देशको सार्वभौमिकता तथा अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै मुलुकको चौतर्फी हितमा अग्रसर हुनु नै आज हामी सबैको प्रमुख आवश्यकता हो,’ प्रदेश प्रमुख मियाँले भनेका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले समस्त नेपालीहरूबीच आपसी सद्भाव, विश्वास, प्रेम र एकताको भावनालाई थप प्रगाढ बनाउँदै मुलुकको सर्वाङ्गीण प्रगति र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया