धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति र प्रदेशमा रहेका सात जिल्ला सभापति नियमित महाधिवेशनको पक्षमा खुलेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको पक्षमा रहेको जानकारी दिएका हुन् ।
उनीहरुले अहिले सबैले पार्टी बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् । सभापतिहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘१५ औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्मको कार्यतालिका २०८२ पौष १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपयुक्त वातावरण समेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टीका एकताको प्रयास गरी वार्ता र सङ्कटमार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुन आवश्यक छ ।’
प्रदेश सभापति बीरबहादुर बलायर, कैलाली सभापति नारायणदत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटी, बझाङ जिल्ला सभापति खडकबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिमबहादुर साउँद, बाजुरा सभापति रामसिंह रावल र अछाम सभापति पुष्पबहादुर शाहले नियमित महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेका हुन् ।
प्रतिक्रिया