धनगढी । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि रोयल्सले महरालाई आइकोनिक खेलाडी छनोट गरेको हो । रोयल्सका मुख्य प्रशिक्षक जगत टमताका अनुसार कैलालीको धनगढीमा आइतबार र सोमबार भएको ‘ट्यालेन्ट हन्ट’ मार्फत तिब्र गतिका बलर महरालाई आइकोनिक खेलाडीमा छनोट गरिएको हो ।
रोयल्सका अनुसार ट्यालेन्ट हन्टमा झन्डै तीन सय खेलाडी सहभागी भएका थिए । मुख्य प्रशिक्षक टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो । आइकोनिक खेलाडी बनेसंगै महराले अब सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने छन् ।
आइकोनिकबाहेक अन्य ५ खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ । जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला रहेका छन् ।
सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्रसिंह ऐरी कप्तान छन् भने आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन खेलाडी रहेका छन् ।
प्रतिक्रिया