धनगढी । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते जलाइएका सरकारी भवनमध्ये ११ वटा संघीय कार्यालयका भवन प्रयोग गर्न नमिल्ने गरी पूर्ण क्षति भएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले गरेको आगलागीको क्षति मूल्यांकनमा ११ वटा भवन प्रयोग गर्न अयोग्य देखिएका हुन् । त्यस्ता भवनमा रातो स्टिकर लगाइएको छ ।
यस्तै, २१ वटा भवनमा आंशिक क्षती भएको छ । तर, अर्को विकल्प नभएकाले ती कार्यालयहरुले प्रयोग गर्न अयोग्य भनी रातो स्टिकर लगाएको भवनमै कार्यालय सञ्चालन गरेका छन् । पूर्ण क्षति भएको भवनमा पनि कुनै कोठामा प्रवेश नै निषेध गरिएको छ भने कुनै कोठामा पहेलो स्टिकर लगाएर मर्मत गरेर प्रयोग गर्न मिल्ने भनिएको छ । पूर्ण क्षति भएकै भवनको केही कोठामा हरियो स्टिकर पनि लगाइएको छ । हरियो स्टिकर लगाएका कोठालाई प्रयोग गर्न मिल्ने भनेको हुँदा सोही कोठाबाट सेवा सञ्चालन गरिरहेको सरकारी कार्यालयहरुले जनाएका छन् ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयको कार्यालय भवन पूर्ण क्षति भएको छ भने क्यान्टिन र ल्याब भवनमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयको पुरानो र नयाँ दुबै कार्यालय भवन, बैठक हल, कर्मचारी आवास गरी चार भवन पूर्ण रुपमा प्रयोग गर्न अयोग्य भएको छ । प्रहरी जवान आवास र सशस्त्र प्रहरी जवान आवासमा आंशिक क्षति भएको छ ।
जिल्ला अदालत, भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय भवन, प्रदेश प्रमुखको कार्यालय भवन प्रयोग गर्न नमिल्ने गरी पूर्ण क्षति भएको भवन निर्माण कार्यालयका इञ्जिनियर सन्तोष जेठाराले बताए । उनले कतिपय भवनको माथिल्लो तला जलेको भए पनि तल्लो तला सुरक्षित रहेको हुँदा मर्मत गरी प्रयोग गर्न मिल्ने गरी आंशिक क्षतिको सूचीमा राखिएको बताए । उनले भूइँ तलामा क्षति पूगेको, पिलर नै जलेको, चर्किएको, पिलर बांगिएको भवनलाई पूर्ण क्षतिको भएको सूचिमा राखिएको बताए ।
आगलागी क्षति मूल्यांकनअनुसार राष्ट्रिय अनुसन्धान कार्यालय भवन, कोष तथा लेखा नियन्त्रण कार्यालयका भवन, नापतौल तथा गुणस्तर कार्यालय भवन, मालपोत कार्यालयको दुबै कार्यालय भवन, भन्सार कार्यालयको कर्मचारी आवास भवन, नापी कार्यालय भवन, सडक डिभिजन कार्यालय धनगढीको कार्यालय भवन, जनता तटबन्ध कार्यक्रमको साइड कार्यालय भवन, जिल्ला कारागारको कार्यालय भवन, सरकारी वकिल कार्यालय भवन, इलाका प्रशासन सुख्खडको कार्यालय भवन र प्रदेश प्रमुखको कार्यालयको दुई भवनमा पनि आंशिक क्षति भएको छ । श्रम तथा वैदेशिक रोजगार नियन्त्रण कार्यालय भवनमा मात्रै सामान्य क्षति भएको आगलागी क्षति मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।
भवन निर्माण कार्यालयका इञ्जिनियर जेठाराले सहरी विकास तथा भवन विभागले माग गरेको तथ्यांकअनुसार नै द्रुत मुल्यांकन गरी प्रतिवेदन तयार गरेर विभागमा पठाएको बताए । उनले भवनको निर्माण लागतको आधारमा मूल्यांकन गर्न बाँकी रहेको र मर्मत तथा पुनर्निर्माण गर्न लाग्ने लगातबारे अध्ययन नगरिएको बताए ।
जेनजी आन्दोलनको क्रममा कैलालीका प्रहरी कार्यालयको पाँच भवन, सर्वसाधारणको निजी १२ भवन, सरकारी कार्यालयका १०३ भवन र राजनीतिक दलहरुको १७ भवन गरी जम्मा १३७ भवन जलेको थियो । सोमध्ये जिल्ला प्रशासनले पाँच कार्यालय भवनमा पूर्ण, ९१ भवनमा आंशिक र ४१ भवनमा सामान्य क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको थियो ।
डडेल्धुराको चार संघीय कार्यालय भवनमा पनि आंशिक क्षति
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले डडेल्धुरामा रहेका चार संघीय कार्यालयहरुको भवनमा समेत आंशिक क्षति भएको जनाएको छ ।
डडेल्धुराको निर्वाचन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र आन्तरिक राजस्व कार्यालयको कार्यालय भवनमा आगलागीबाट आंशिक क्षति भएको आगलागी क्षति मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया