ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘जुगाड’ लगाएर उठ्ने प्रयासमा कैलालीका स्थानीय तह

शुक्रबार २१, कार्तिक २०८२ १०:४७

धनगढी । जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका कैलालीका स्थानीय तहलाई लयमा फर्किन सकस भएको छ । २४ भदौमा आगजनी र तोडफोडमा परेका स्थानीय तहहरुले आधारभूत सेवा सञ्चालन गर्न थाले पनि अत्यावश्यक सामाग्री जुटाउन पनि समस्या भइरहेको छ । 

कतिपयले सहयोगी गुहार्दै सामग्री जुटाइरहेका छन् भने कतिपयले वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाका भवनबाट सेवा सञ्चालन गर्न थालेका छन् । कैलारी गाउँपालिकामा पनि जेनजी आन्दोलनका क्रममा ठुलो क्षति भएको थियो । कैलारीका सूचना अधिकारी यगम कलेलका अनुसार नौ वटै वडा कार्यालयहरुसहित गाउँपालिका भवनका सामग्रीहरुमा क्षति पु¥याइएको थियो । कैलारीले पनि विभिन्न सहयोगीहरुसमक्ष आव्हान गरेर अत्यावश्यक सामग्रीहरु जुटाएर काम चलाउन थालेको छ । 

पूर्ण रुपमा क्षतिग्रस्त भएका वडा कार्यालयहरुले वैकल्पिक ठाउँबाट सेवा सञ्चालन गरिरहेका कलेलले जानकारी दिए । ‘१, २, ५ र ९ नम्बर वडा कार्यालयहरु सरसफाई गरेर आफ्नै भवनबाट सेवा सञ्चालन गरिएको भए पनि वडा नम्बर ३ युवा क्लबको भवनबाट, ४, ७ र ८ नम्बर वडा कार्यालय स्थानीय स्वास्थ्य संस्थाको भवनबाट सञ्चालन गर्न थालिएको छ,’ उनले भने  ‘६ नम्बर वडाको कार्यालय विद्यालय भवनबाट सञ्चालन गरिएको छ ।’

गौरिगंगा नगरपालिकामा साढे सात करोडको क्षति अनुमान गरिएको छ । ११ वटा वडा रहेको उक्त नगरपालिकामा नगरपालिकासहित नौ वटा वडा कार्यालय पूर्ण र दुई वटा वडामा आंशिक क्षति भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार नगरपालिकाले सर्वपक्षीय–सर्वदलीय बैठक गरेर सेवा सञ्चालनका लागि जिन्सी सामग्री सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो । ‘सोही अपिलका आधारमा हालसम्म करिब ८० लाख बराबरका जिन्सी सामग्रीहरु सहयोग प्राप्त भएका छन्,’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने, ‘व्यापार व्यवसायी, व्यक्तिगत लगायतका क्षेत्रबाट सहयोग जुटाएर कार्यालयलाई सञ्चालन गरिरहेका छौं ।’

गोदावरी नगरपालिकामा नौ करोड ५४ लाख क्षति भएको प्रारम्भिक अनुमान रहेको इन्जिनियर जनक खड्काले बताए । वडा कार्यालयहरुमा ठुलो क्षति नभए पनि पालिकाको भवन भने पूर्ण रुपमा क्षति भएको उनले बताए । खड्काले भने ‘कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्रीहरुका लागि सार्वजनिक रुपमा राहत तथा सहयोगका लागि आग्रह गरेका थियौं । सोही आधारमा केही सामग्रीहरु जुट्दै गएका छन् । त्यसैबाट अत्यावश्यक सेवाहरु सञ्चालन गर्न थालेका छौं ।’ भवन मर्मतका लागि टेन्डर गरिएको र प्रकृयामा रहेको उनले बताए ।

प्रारम्भिक रुपमा तयार गरिएको विवरणअनुसार घोडाघोडी नगरपालिकामा साढे आठ करोडको क्षति अनुमान गरिएको छ । नगर प्रवक्ता घनश्याम ओझाका अनुसार सहयोगीहरुबाट सामग्री जुटाएर अत्यावश्यक सेवा सुचारु गरिएको बताए । आगजनी र तोडफोडबाट बचेका केही सामग्री र केही सहयोग जुटाएर काम चलाइरहेको प्रवक्ता ओझाले बताए । 

प्रतिक्रिया