धनगढी । जेनजी आन्दोलनमा तहसनहस बनाइएको कैलाली जिल्ला अदालत लयमा फर्किने प्रयासमा छ । २९ भदौमा पूर्ण बैठक बसेर केही सेवा सुचारु गरिएकोमा दोस्रो बैडकले असोज २६ गतेदेखि थप सेवा सञ्चालन गरेको थियो ।
मंसिर १ गतेदेखि भने नियमित पेशी सुनुवाइको कार्य सुरु हुने अदालतका निमित्त श्रेस्तेदार दिवानसिंह लोहारले बताए । यस्तै कात्तिक २३ गतेदेखि फिरादपत्र, प्रतिउत्तरपत्र र फैसला कार्यान्वयनतर्फका निवेदनहरु दर्ता गरिने पनि श्रेस्तेदार लोहारद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
३० हजार बढी मिसिल भेटिएनन्
२४ भदौमा भएको जेनजी आन्दोलमा कैलाली जिल्ला अदालतमा २००७ सालदेखिका मिसिल जलेका छन् । निमित्त श्रेस्तेदार दिवानीराम लोहारले अभिलेख शाखामा २००७ सालदेखिका २९ हजार ७७७ मुद्दाका मिसिल फेला नपरेको उल्लेख गरेका छन् ।
यस्तै, मुद्दा दर्ता फाँटका चालू र फैसला भएका २११, मुद्दा फाँट सरल–१ मा १०७, मुद्दा फाँट सरल–२ मा रहेका २४६, मुद्दा फाँट समान्य–१ र २ मा रहेका तीन थान मुद्दाका मिसिल फेला नपरेको उनको भनाइ छ ।
तहशिल शाखामा चालू र तामेलीमा रहेका एक हजार ६६० निवेदन फाइल, चालू आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता र जिम्मेवारी सरेका एक हजार ८३२ मध्ये ५६७ थान मुद्दा फेला नपरेको श्रेस्तेदार लोहारले जानकारी दिए ।
जलेर नष्ट भएका तथा फेला नपरेका मिसिल पुनःप्राप्तिका लागि सर्वोच्च अदालतबाट जारी “विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२” बमोजिम गर्ने भनिएको छ ।
जिल्ला अदालतले सम्बन्धित पक्षहरू, कानून व्यवसायी, सरकारी वकिल कार्यालय, अनुसन्धान निकाय र सरोकारवाला व्यक्तिहरूलाई आफूसँग रहेका मुद्दासँग सम्बन्धित अभियोपत्र, फिरादपत्र, प्रतिउत्तरपत्रलगायतका कागजातका प्रतिलिपिहरू अदालतमा बुझाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया