ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा गुणस्तरीय उच्च शिक्षाका लागि नयाँ प्रयास, सोफान वेस्टर्न एकेडेमीबाट काठमाडौँ विश्वविद्यालयको कार्यक्रम

शनिबार १५, कार्तिक २०८२ ०९:००

धनगढी । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको स्तर उकास्ने कदमका रूपमा सोफान वेस्टर्न एकेडेमीले औपचारिक रूपमा आफ्नो शैक्षिक यात्रा प्रारम्भ गरेको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजले पहिलो चरणमा ब्याचलर अफ सोसल वर्क (बिएसडब्लु)  कार्यक्रम सुरु गर्दै सुदूरपश्चिममा गुणस्तरीय उच्च शिक्षाको नयाँ प्रयास सुरुवात गरेको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा काठमाडौँ विश्वविद्यालयका मानविकी तथा व्यवस्थापन संकायका डिन प्रा. डा. उद्दब प्याकुरेलले सोफान वेस्टर्न एकेडेमीको यो पहललाई “प्रदेशमा शिक्षाको पुनर्जागरण” भन्दै स्वागत गरे । उनका भने, “सुदूरपश्चिम जस्तो सम्भावनायुक्त भूभागमा अब विद्यार्थीहरूलाई राजधानी नगई नै अन्तर्राष्ट्रिय स्तरको शिक्षाको अनुभव लिन सक्ने बाटो खुलेको छ।”

कार्यक्रममा कलेजका निर्देशक शैलेश सिंहले सोफान वेस्टर्न एकेडेमीलाई शिक्षा र रोजगारीबीचको पुलको रूपमा परिभाषित गर्दै भने, “हामी केवल पढाइ होइन, सोच बदल्ने शिक्षाको वातावरण निर्माण गर्दैछौं। सामाजिक कार्य र मनोविज्ञानको संयोजनले प्रदेशको मानसिक, सामाजिक र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनेछ।”

उद्घाटन कार्यक्रममा स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो । वक्ताहरूले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनले सुदूरपश्चिमका विद्यार्थीहरूका लागि ‘काठमाडौँ नपुगी काठमाडौँ स्तरको शिक्षा’ प्राप्त गर्ने अवसर खुलेको बताएका थिए ।

भविष्यमा सोफान वेस्टर्न एकेडेमीले थप विषयहरू सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । 

प्रतिक्रिया