विद्यालय बिदा भए पश्चात् घर पुगे । टिभीको स्कृनमा गीत बजिरहेको थियो – ‘आउँथ्यो दसैँ आउन त पहिले नि, यस्तो मजा भाथेन कहिले नि ...।’ गायक हेमन्त शर्माको स्वर रहेको यो गीतमा छोरी सम्पदा आफ्नो नृत्य पस्किरहेकी थिइन् । सोफामा बसेर मेरी जीवनसङ्गिनी पुनम दर्शकको रुपमा हुटिङ गरेर छोरीको नृत्यलाइ थप उर्जा र हौसला भरिरहेकी थिइन् । काखमा थिइ पाँच महिने सानो छोरी सुरभी । शब्द र भाव नबुझे पनी संगीतले उनी पनि खुसी थिइन् । ओठमा छाएको अबोध मुस्कान, अनुहारमा देखिएको चमक र हातखुट्टाले दिने प्रतिक्रिया कम्ती लोभलाग्दो थिएन ।
धेरै दिनपछि मलाई पर्खिरहेको सोफा स्वागत गर्न आँतुर देखिन्थ्यो । थकित शरीर उसैलाइ सुम्पिएँ । मेरो उपस्थितिले छोरीको नृत्य गति अलि सुस्तायो । मैले नरोक्न सङ्केत गरेँ । सानो छोरी मलाई देख्ने बित्तिकै मुस्कुराउँदै आफूलाई बोक्न सङ्केत गर्दै थिइन् । गीत अगाडि बढ्दै गयो । गीतको श्रव्यदृश्य राम्रो थियो । छोरीको नृत्य माहोलमाथि कुनै हस्तक्षेप नगरी पूरा गीत सुनिरहेँ, हेरिरहेँ ।
गीत सक्कियो । यसपाली मलाई पित्रीशोक परेकोले दसैँ थिएन । छोरीले मन अमिलो बनाइ । गतवर्ष दसैँकै परिबेशमा कैद गरिएको बुवासहितको पारिवारिक तस्बिर कोठाको भित्तामा झुन्डिएको थियो । सबैका आँखा रसाए एकपटक फेरि । बुवा नहुँदाको पीडा फेरि यो पटक खड्कियो ।
छोरी सम्पदा गीत बन्द गरेर मेरो नजिकै आएर बसिसकेकी थिइँ । उनले भर्खरै सुन्दै र नृत्य गर्दै गरेको गीतका बारेमा केही प्रश्न गरे । गीतमा देखाइएको दृश्यहरुका बारेमा कुरा भयो । गीतका शब्दभित्र पसेँ । दसैँका बारेमा गफ भयो । छोरीलाई किन दसैँ राम्रो लाग्छ भनेर सोधेँ । आफू छोरीको उमेरमा हुँदाका बखत कसरी दसैँ मनाउथौँ ? के–के गर्थे त्यो बेला ? किन मलाइ दशैँ धेरै मन पथ्र्यो लगायतका कुरा गर्नै लागेको थिएँ । छोरीले आफुले आफ्ना कुरा राखी । तर मेरा कुराहरु सुन्न त्यति रुचि देखाइन । न त उसको मम्मिले नै ।
मन खिन्न भयो । म आफ्ना बाल्यकालिन स्मृतिहरु सुनाउन चाहँदै थिएँ । पहाडका उकाली ओरालीमा सयर गराउँदै थिए । लेकबेशिका हरिया फाँटहरुमा बिचरण गराउँदै थिएँ । ग्रामिण जीवनका मौलिकतामा डुबुल्की मार्न लगाउँदै थिएँ । तर किन हो कुन्नी, उनीहरुको मन जित्न सकिन त्यो पल । विभिन्न प्रसङ्ग उप्काउँदै म मेरा बाल्यकालिन एल्बममा सुरक्षित गरी राखिएका स्मृतिका पत्रहरु पल्टाउन प्रयास गर्दै थिएँ, उनिहरु पर पर भाग्न खोज्दै थिए । मेरा कुराहरुमा उनिहरुको विशेष रुचि नदेखे पछि म आफ्नो कोठामा गएँ । स्मृतिका भेलहरु उर्लदै आइरहेका थिए । म रोक्न सकिराखेको थिएन । तत्काल सुन्ने स्रोता नभए पनि पढ्ने पाठक त छन् मेरा । यत्ती सम्झेँ त्यो बखत । र मोबाइलको नोट एप्लिकेशनमा गएर चोर औँला किप्याडमा सराउन थाले । अक्षरअक्षर मिल्दै शब्द बने । शब्दशब्द जोडिएर वाक्य बने । वाक्यवाक्य जोडिदै लामा लामा अनुच्छेद बने बाल्यकालिन स्मृतिका ।
‘आउँथ्यो दसैँ आउन त पहिले नि, यस्तो मजा भाथेन कहिले नि...।’ फेरि सम्झिएँ गायक हेमन्त शर्मालाई । कस्तो मजा भनेका होलान ? प्राकृतिक सुन्दरता र मौलिकतमा आउने मजा र आनन्दलाई के अहिलेको डिजिटल एप्लिकेसनले साँच्चै विस्थापित गरेकै हो त ? म आफ्नो विगतमा फर्किन्छु । आफ्नै जन्मस्थल गडसेरा पुग्छु । त्यहीँ बाल्यकाललाइ सम्झन्छु । हुर्केबढेको भूगोल र माटोलाई सम्झन्छु । गडा र खेतमा पुग्छु । गाड–नोलामा पुग्छु । अनि त्यो बेलाको मेरो खुसी र आनन्दलाई अहिलेको खुसी र आनन्दसंग दाँज्छु । हुन त खुसीको कुनै परिधी हुँदैन । खुसी नाप्ने कुनै उपकरण र औजार हुँदैन होला । तर पनि अनुभूति गर्न सक्छौँ ।
नयाँ लुगा पाउने आशमा बर्सदिन कुथ्र्यौँ । दसैँ नै यस्तो अवसर थियो, जहाँ हामी नयाँ लुगा लगाउन पाउथ्यौँ । मासु खान महिनौ दिनसम्म पर्खेर बसेका हुन्थ्यौँ दशैँलाइ । नयाँ लुगा लगाएर गाउँ डुल्दाको खुशीलाइ कुन यन्त्रमा राखेर नाप्न सकिएला र ? धेरै महिना पछि दशैँमा पाक्ने मासुभातलाइ अहिलेको बोइलरको मासुले सजिलै बिस्थापित नगर्ला र ?
म त्यही गाउँमा पुग्छु, जहाँ मैले मेरा जिन्दगीका दस चेतनशिल दशैँ मनाएको छु । शरद ऋतुको आगवन सङ्गै प्रकृतिले भिन्नै खालको सुगन्ध धरतीमा छर्ने गथ्र्यो । धानका लहलाउँदा बालाहरुले दशैँको स्वागत गरिरहेको भान हुन्थ्यो । खेत र गडामा झुल्दै गरेका पहेँला धानका बालाहरुको सुन्दर दृश्य र मीठो सुगन्धले दशैँको रौनक अझ बढाएको लाग्थ्यो । पाखा र बारिमा झुल्दै गरेका कोदाका बालाहरुले पनि दशैँको आगवनलाइ स्वागत गरिरहे जस्तो लाग्थ्यो । साँच्चै भन्ने हो भने प्रकृति नै फेरिएको हुन्छ यो बखत । बरिखा मासको हिलो मैलो हटेर प्रकृति स्वच्छ, सफा र सुन्दर देखिन्छ । दुई तीन महिनासम्म रिसाए जस्तो देखिने आकाश निलो, सफा र कन्चन लाग्छ । उराठ र दिक्क लाग्ने दिनहरु मिठा र न्याना लाग्न थाल्छन् । बर्सातका ती उर्लिने खहरे खोला र गाडहरु आफ्नो स्वाभाविक लयमा फर्केर परदेशी दाजुभाइलाइ स्वागत गर्न पर्खिरहेका देखिन्छन् । बरिखामा सताउने जुगा, डाँस र अन्य किराफट्याङ्राहरु प्रकृतिको गर्भमा लोप भैदिन्छन । र त दशैँको माहोल बिछट्टै आनन्ददायी र उत्साहमय भैदिन्छ बालकदेखी बृद्धसम्म ।
त्यो बेलाको दसैँ र अहिलेको दसैँलाइ म तुलना गर्छु । अभावमा पनि खुसी मिल्थ्यो । गरिबीभित्र पनि खुसी मिल्थ्यो । बालक पनि खुसी देखिन्थे, बृद्धहरु पनि खुसी देखिन्थे । पैसा भए पनि नभए पनि दसैँ दसैँ नै हुन्थ्यो सबैको लागि ।
परदेश गएका दाजुभाइको कयौं महिनाको प्रतीक्षा पछि गाउँमा आगवन हुँदाको चहलपहल बिछट्टै रमाइलो हुन्थ्यो । हातमा दुई तीन फिट लामा टेप झुन्ड्याउदै ठूलो भोलुममा गित बजाएर जब परदेश गएकाहरु कटेबाटोमा देखिन्थे तब दशै‘ आइनैसकेको अझ बढी भान हुन्थ्यो । पिठ्युमा ठूलो झोला, एक हातमा टलक्क टल्किने कालो बाकस र अर्खो हातमा टेप । हिन्दी लवजमा गरिने भलाकुसारी ।
परदेश गएकाहरुबाट चकलेट र मिठाई पाउथ्यौँ । एउटा चकलेटको चुसाइमा असिमित आनन्द हुन्थ्यो, आत्मियता हुन्थ्यो, माया हुन्थ्यो अथाह । पल्ला घरका साइँला दाजु परदेशबाट फर्किदा साइँलि बौजुले गाउँभरी मिठाइ बाँढ्नुहुन्थ्यो । टुप्पाघरका कान्छा दाइ आउँदा चौकेल्लिइ आमाले हामी केटाकेटालाइ घरमै बोलाएर देशी मिठाई ख्वाउनुहुन्थ्यो । यसकारण पनि दशैँ हाम्रा लागि विशेष हुन्थ्यो । गाउँमा अलग्गै माहोल हुन्थ्यो । चिया दोकानमा परदेशीएका दाजुभाइहरुको न्यारै गफ हुन्थ्यो । चिया पिलाउने र पिउनेको भिड हुन्थ्यो । बेलिबट्टन पाइन्टमा सजिएका युवाहरुको शरिरमा मीठो सुगन्ध आउथ्यो । परदेशबाट आएको स्पस्ट सङ्केत त्यही थियो । हिन्दी सिनेमाका केही टुटेफुटेका गितहरु गुनगुनाउ‘दै गर्दा उनिहरुको पछि पछि लाग्थ्यौँ हामी केटाकेटिहरु । हिन्दी सिनेमाका हिरोको नक्कल गर्दै कपाल पालेका र त्यही शैलीमा हिड्दै गर्दा ती परदेशी युवा दाइहरु देखेर आफुमा पनि परदेशिने रहर पलाउँथ्यो । उहाँहरुको पछि पछि लाग्थ्यौँ । देशपरदेशका रमाइला रमाइला किस्सा सुन्थ्यौँ । हिन्दी चलचित्रका छोटा छोटा डाइलग र थेगोहरु याद गथ्र्यौँ । उहाँहरुको हेयर स्टाइल र हिड्ने तरिकाको नक्कल गथ्र्यौँ । दिनहरु छोटा लाग्थे । दशैँ बिदा सक्किएको पत्तै नहुने त्यो बखत ।
दशैँ सङ्गै हामिहरुलाइ अन्नबाली भित्रर्याउने चटारो पनि हुन्थ्यो । खेतमा धान पाकिसकेका हुन्थे । ब्यान्नलै उठेर धान काट्न जानू, सुकाउनु, ओगर्नु, कुन्यु बनाउनु, चुट्नु, पराल सुकाउनु, घरमा बोक्नु, माच बनाउनु जस्ता कामहरुको चटारो हुन्थ्यो दशैँकै माहोलमा पनि । यस्तो चटारोका बिच पनि खुशी हुन्थ्यौँ सबैजना । न त थकान महसुस हुन्थ्यो, न त अल्छिपना र दिक्दारीपन । सायद मौसम पनि त्यस्तै भएर होला, शरिरमा अलग्गै स्फुर्ती हुन्थ्यो । काम गर्ने जोश र जाँगर हुन्थ्यो ।
धान काटिसकेर खेतहरु खुल्ला हुन्थे । हामिहरु खुब खेल्थ्यौँ । गाइबाख्रा चराउन पनि खेतमै लग्थ्यौँ । सरु खाने डर हुन्थेन । त्यसकारण हामिलाइ खेल्न अझ सजिलो हुन्थ्यो । लुक्नेचोर खेल्थ्यौँ । छोप्नेबाजि खेल्थ्यौँ । स्वतन्त्र थियौँ खेल्न र चल्न । न कुनै डर थियो, न कुनै चिन्ता । माटोमै माटो सङ्गै खेल्थ्यौँ । ढुङ्गामै ढुङ्गा सङ्गै खेल्थ्यौँ । गाडमा पानीसङ्ग खेल्थ्यौँ । खेतमा आलिसङ्ग खेल्थ्यौँ । लठ्ठी र बालुवासङ्ग खेल्थ्यौँ । परालका माचमा खेल्थ्यौँ । न खेलेरै थाकिन्थ्यौँ, न हाँसेरै थाकिन्थ्यौँ । यसबाट मिल्ने आनन्द अहिलेका बिधुतिय ग्याजेड खेल्दा मिल्ने आनन्द सङ्ग दाँज्न मिल्ला र ?
म कसरी तुलना गर्न सक्छु अहिलेको दशैँ र उबेलाको दशैँलाइ ? आफ्नै मौलिकता थियो । आफ्नै चालचलन र भेषभुसा थियो । बेग्लै मौलिक सङ्स्कार र सङ्स्कृती हुन्थ्यो दशैँ मनाउने । न थियो तडकभडक र देखावटी सङ्स्कार । न त थियो फजुल खर्च गर्ने बानी व्यवहार । एउटा खाले आत्मअनुशासन हुन्थ्यो, अग्रजप्रती सम्मान हुन्थ्यो । आत्मियता हुन्थ्यो, पारिवारिक मिलन र सामुहिक भावना हुन्थ्यो ।
अहिलेका जस्ता सन्चारका साधन थिएनन । न त थिए प्रर्याप्त क्यामेरा र फोटो खिच्ने फोटोग्राफर । त्यसैले बाल्यकालिन यादहरु र स्मरणलाई भौतिक फोटोमा कैद गर्न सकिएनन त्यो बखत । तरपनी मानसपटलको एल्बम भित्र अमेट हुनेगरी कैद गरेको छु तमामौँ याद र स्मरणहरुलाइ । तब त यसरी शब्दहरु मार्फत यहाँ प्रस्फुटन भएका छन ।
कहिलेकाँही फोटोग्राफर दाइ आउनुहुन्थ्यो हाम्रा गाउँमा । रिलवाला क्यामेरा हुन्थ्यो । एउटा रिलमा छत्तीस ओटासम्म फोटा खिच्न मिल्थे । एकदम चनाखो र सचेत भएर फोटो खिच्थ्यौँ । प्रती फोटो बीस रुपैयाँ लिनुहुन्थ्यो । फोटो खिचेर लगेको महिनौं दिनपछी हाम्रा फोटाहरु आउँथे । फोटाहरु देख्दा जुन खुशी प्राप्त हुन्थ्यो, त्यो ब्यक्त नै गर्न सक्दिन यहाँ ।
दशैँको चतुर्दशीमा हाम्रो गाउँमा मेला लाग्थ्यो । खासमा हामी दशैँ भनेकै त्यही मेलालाइ बुझ्थ्यौँ पनि । टिकाजमरा लगाउनु भन्दा पनि त्यो दशैँ मेला हेर्ने उत्साह बढी हुन्थ्यो । महिसासुरको प्रतिकको रुपमा राँगोलाइ लखेटेर कुटि कुटी बध गर्थे । चतुर्दशिको दिन प्रत्येक बर्ष आलोपालो गरेर दुई फरक गाउँमा दशैँ हुन्थ्यो । एक बर्ष ओल्कट्टेइ दशैँ जसलाइ हामी ‘मल्लादेशै दशैँ’ भन्थ्यॉै । अर्को वर्ष फल्दाइ दशैँ जसलाइ हामी ‘तल्लादेशै दशैँ’ भन्थ्यौँ । यसरी यो दशैँ मेला हामी सबैको लागि विशेष हुन्थ्यो । दर्जनौ पसलहरु थापिएका हुन्थे । टाढा टाढाका गाउँबाट दशैँ हेर्न मान्छेहरु आउँथे । राम्रो आर्थिक कारोबार हुन्थ्यो । घरमा आमाले दस बीस रुपैयाँ दिएर पठाउनु हुन्थ्यो । त्यही दस बीस रुपैयाँले आफुलाइ मनपर्ने चिज किनेर खान्थ्यौँ । जेरि र पक्की मिठाई खान्थ्यौँ । अम्भा खान्थ्यौँ । मुखपली (बदाम) खान्थ्यौँ । साना केटाकेटी खेलौना किन्थे । फरक फरक गाउँबाट आएका परिचित र अपरिचित बिच भेटघाट र भलाकुसारीको अवसर बन्थ्यो दशैँ मेला । केही दिनदेखी छुट्टिएका स्कुले केटाकेटीको भेटघाट हुन्थ्यो । जवान युवायुवतीको प्रेम साँटासाँट गर्ने सुनौलो अवसर बनिदिन्थ्यो यो मेला । कसै कसैलाइ आफुलाइ मनपर्ने मान्छेलाइ लुकि लुकि टाढाबाट दर्शन गरि धित मार्ने मौका बनिदिन्थ्यो दशैँ मेला । कृषि कार्यमा ब्यस्त रहँदाको थकानलाई मेट्ने मीठो प्याला बनिदिन्थ्यो दशैँ मेला । फरक फरक स्वादका फरक फरक मिठाई चाख्ने मौका हुन्थ्यो यो मेला । आफुले दशैँमा किनेका नयाँ लुगा र आभुषण देखाउने साझा चौतारी पनि पनि त हुन्थ्यो दशैँ मेला । दिनभरी चल्ने यो दशैँ मेला साँझपख राँगोको बध सङ्गै सकिन्थ्यो । राँगोलाइ घाइते बनाइ लखेटेर कुटि कुटी मार्दाको दृश्य अहिले पनि सम्झँदा आङ जिरिङ्ग हुन्छ । सामाजिक सन्जालमा तेस्ता भिडियोहरु सार्वजिक भएका हुन्छन् आजकाल पनि । मलाइ त्यही गडसेराका दशैँको याद आउँछ । तिनै चित्रहरु मानसपटलमा घुम्छन चलचित्रको रिलझै । मन अमिलो हुन्छ ।
मोबाइलको नोट फोल्डरमा मेरा औँलाहरुले अक्षरको खेती गरिरहँदा सडकमा फलफूल भन्दै एउटा देशी कराइरहेको हुन्छ – ‘केरा, स्याउ, अनार । आयो हजुर सस्ता सस्ता फलफूल ।’ झ्यालको एउटा कुनाबाट सडकमा ठेलामा फलफूल बेच्दै गरेका छोटे दाइ देखिन्छन् । कयौँ पटक उहाँसङ्ग फलफूल किनेको छु । मलाइ मेरा बाल्यकालिन दिनको फेरि याद आउँछ । दशैँ, तिहार, ओल्के, होरी इत्यादि काजबार आउ‘दा गाउँमा केरा पकाइन्थ्यो । घडिखातामा आगोको रापमा पकाइएका केराको स्वाद नै फरक हुन्थ्यो । अहिले बजारमा औषधी हालेर पकाइएका केरा र गाउँमा परम्परागत रुपमा आगोको तापमा पकाइएका केराको स्वादलाइ तुलना गर्छु कहिलेकाहीँ । ती पहाडी केरा जसलाइ परम्परागत बिधिद्वारा पकाइन्छ, तिनिहरुको स्वादलाइ कसरी पो तुलना गर्न सकिन्थ्यो र ? स्वादी मात्र होइनन, स्वास्थ्यबर्धक पनि उत्तिकै हुन्छन् । दुध वा दहिमा मेचेर खाएको याद आउँछ । अनि त्यो सन्तुष्टि र मजा अहिले बजारमा उपलब्ध हुने केराले दिन सक्ला र ?
प्रतिक्रिया