ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दसैँको किनमेल बढ्यो, बजार अनुगमन पनि संगसंगै

मङ्गलबार ०७, असोज २०८२ ०६:४७

धनगढी । दसैं सुरु भएसंगै धनगढी बजारमा पनि किनमेलको चहलपहल सुरु भएको छ । व्यापारीहरुले पसलअगाडि रंगीचंगी टेन्ट लगाएर सामान बिक्री गर्न थालेका छन् । कतिपय पसलहरुमा दसैंको अवसरमा विशेष छुट लगायतका अफरहरु समेत राखिएको छ । दशैंको अवसरमा फर्निचर, मोबाइल, बेकरी तथा मिठाई पसल, जुत्ता, कपडा, इलोक्ट्रोनिक्स, भाँडा, बुटिक, सलोन, किराना, अनलाइन सप, अटोमोबाइल्स लगायतका पसलहरु अफर चलिरहेका छन् । 

कतिपय पसलेहरुले कम्पनीको तर्फबाट दिएको अफरसंगै आफ्नो पसलको तर्फबाट पनि छुट लगायतका अफरहरु सार्वजनिक गरेका छन् । धनगढीमा मोबाइल पसल सञ्चालन गरिरहेका कलाकार गोविन्द मुखियाले आफ्ना ग्राहकका लागि मोबाइल कम्पनीहरुले दिएको अफरका साथै पसलको तर्फबाट हरेक मोबाइल खरिदमा एक हजार रुपैयाँ छुट तथा ग्लास र कभर उपहार दिने बताए । उनले सामान्य समय भन्दा दसैं सुरु भएदेखि केही मात्रामा बृद्धि भएको बताए ।

कतिपय जुत्ता, चप्पल, कपडा पसलहरुमा दसैंको अवसर पारेर सेल लगाइएको छ । वर्षभरि बिक्री नभएका सामान पसलेहरु दसैंमा बिक्री गर्ने गरेका छन् । अफर र सेल लागेका पसलहरुमा उपभोक्ताहरुको भिडभाड छ । यही मौका पारेर कतिपय पसलमा खाद्यपदार्थमा मिसावट गर्ने, उपभोग्य म्याद नाघेका खाद्यपदार्थ तथा खाद्यान्न बिक्री गर्ने र कम दामको सामान पनि महंगोमा बिक्री गर्ने खतरा उत्तिकै छ ।

तर, बजार अनुगमन र नियमनको मुल जिम्मेवारीमा रहेको जिल्ला प्रशासन कार्यालय कैलाली जेनजी आन्दोलनपछिको क्षति र सुरक्षा व्यवस्थामै व्यस्त भएको छ । प्रशासनको ध्यान सुरक्षातिर केन्द्रित भए पनि समय मिलाएर मंगलबारदेखि बजार अनुगमन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।  धनगढीका १० वटा पसलमा अनुगमन गर्दा खासै कैफियत नभेटिएको बताउँदै उनले अवदेखि हरेक दिन बजार अनुगमन गरिने जनाइन् । उनले कैफियत भेटिए कसुर अनुसारको कारबाही तुरुन्तै गरिने बताइन् ।

वाणिज्य कार्यालयका प्रमुख सुरेश जैशीका अनुसार मंगलबार धनगढीको मिठाई पसल र खाजा पसहलहरुको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा दुई वटा पसलहरुमा खाजा बनाउने तेल अखाद्य भेटिएको थियो । ‘त्यो तेल नष्ट गरियो,’ उनले भने, ‘केही म्याद गुज्रिएका सामानहरु पनि नष्ट गरियो । व्यापारीहरुलाई अब उपरान्त त्यसो नगर्न पनि चेतावनी दिइएको छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी जोशीको नेतृत्वमा उपभोक्ता हित संरक्षण तथा वाणिज्य कार्यालयका प्रमुख, नाप तौल गुणस्तर कार्यालयका प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख, सम्बन्धित स्थानीय तहको बजार अनुगमन समितिका संयोजक र सुरक्षा निकायका प्रतिनिधि सहितको बजार अनुगमन टोली गठन गरिएको छ । सो अनुगमन समितिले दैनिक रुपमा बजार अनुगमन गरी चाडपर्वको बेला बजार नियमन गर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया