ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
जेनजी आन्दोलन

कैलालीमा क्षतिको प्रारम्भिक विवरण संकलन, एकिन गर्न समिति परिचालन हुँदै

सोमबार ३०, भदौ २०८२ ०५:२५

धनगढी । २३ र २४ भदौमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कैलालीमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । प्रहरीमार्फत मुचुल्का र क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेनजीको प्रदर्शनका क्रममा एक सय ३७ वटा भवनमा क्षति पुगेको छ । पूर्ण रुपमा क्षति भएका भवनको संख्या पाँच छ भने ९१ भवनमा आंशिक क्षति भएको छ । यस्तै, ४१ भवनमा सामान्य क्षति पुगेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘सरकारी कार्यालयका एक सय तीन र १७ वटा पार्टी कार्यालयमा क्षति पुगेको छ,’ उनले भने, ‘१२ वटा निजी घर र पाँच वटा प्रहरीका भवनमा पनि क्षति पुगेको छ ।’

सूचना अधिकारी जोशीका अनुसार छ सय ७८ वटा सवारीसाधन जलाइएको छ । पाँच सय ४३ वटा मोटरसाइकल, एक सय १४ चार पाङग्रे, छ वटा तिन पाङग्रे र १५ वटा साइकल जलाइएको हो ।   

एकिन विवरण संकलनका लागि भने एउटा समिति बनाएर परिचालन गर्ने तयारी रहेको सूचना अधिकारी जोशीले बताए । ‘हामीले संकलन गरेको प्रारम्भिक विवरण मात्रै हो,’ उनले भने, ‘एकिन विवरणका लागि इन्जिनियरहरुको एउटा समिति परिचालन गर्ने तयारी छ । त्यसका लागि अन्तिम छलफलमा जुटेका छौं ।’

कैलालीमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय लगायतले क्षतिग्रस्त भवनबाटै सेवा सुचारु गरिसकेका छन् । अन्य कार्यालयले सरसफाई र मर्मतको कार्य सुरु गरेका छन् । 
 

प्रतिक्रिया