धनगढी । भारी वर्षाले कञ्चनपुरमा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट (बिओपी) डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई वटा बिओपीमा बाढी पसेको हो ।
दोधाराचाँदनी नगरपालिका– ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बिओपीमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनका अनुसार जोगबुढा नदीको बाढी बिओपीमा पसेको हो ।
`सुन्दरनगर बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार विद्यालय र कञ्चनभोज बिओपीका विस्थापित ३० सशस्त्र प्रहरीलाई शहरी खोप केन्द्रमा सारिएको छ,´ डीएसपी बोहराले भने ।
यस्तै दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ र वडा नम्बर ३ को पटेराखल्लाका १५ परिवार बाढीले विस्थापित भएका छन् । ‘रामपुरे टापुका २५ परिवारका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ,’ डीएसपी बोहराले भने, ‘पटेराखल्लाका १५ परिवारलाई जमुना आधारभूत विद्यालयमा राखिएको छ ।’
प्रतिक्रिया