ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बढ्दो हात्ती आतंक, घर र बालीनाली जोगाउन मुस्किल

सोमबार २१, पुष २०८२ ११:१०

धनगढी । आइतबार बिहान कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– ५ इमलिया गाउँमा जङगली हात्ती पस्यो । शुक्लाफाटा राष्ट्रिय निकुन्जबाट आएको जङ्गली हात्तीले स्थानीय बासिन्दाको अन्नबाली र भौतिक संरचनामा क्षति पुगाएको छ । कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर पूर्णरुपमा क्षति पुगाएको छ ।

यस्तै गिरीकै पाँच कठ्ठा जमिनमा लगाएको उखु बारी, पाँच कठ्ठा जमिनमा लगाएको गँहु र तोरी बालीमा समेत हात्तीले क्षति गरेको छ । सोही ठाउँका नेपाली गिरीको काठ र माटोले बनेको कच्ची घरको एकतर्फको बार हात्तीले भत्काइदिएको छ । घरभित्र राखेको चामल, धान, गँहु, पिठोसमेत हात्तीले खाएको छ । हात्तीले बिरजनि गिरीको काठ र माटोले बनेको कच्ची भान्सा भत्काइदिएको छ । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार हात्तीले आंतक मच्चाएपछि स्थानीय, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीले हात्तीलाई धपाएर निकुन्जतर्फ पठाएको थियो । 

कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाएको यो पहिलोपटक होइन । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ । हात्तीले १० कट्ठामा लगाएको उखु सात दिनपहिले पूर्ण रूपमा सखाप पारेको बेलडाँडीका स्थानीय शेरबहादुर थापाले बताए ।

हात्तीको बथानबाट छुटेको एक दन्ते हात्तीले बस्तीमा आतङ्क मच्चाउन थालेपछि जनप्रतिनिधि र स्थानीयबिच आइतबार छलफल भएको छ । छलफलमा राति पालो लगाएर गस्ती गर्ने सहमति भएको छ । यस्तै, दन्ते हात्तीलाई बस्तीबाट टाढा लैजान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयलाई पनि आग्रह गरिएको छ । 

दन्ते हात्ती बस्तीमा घुमिरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । पुस १६ गते राति अचानक गाउँ छिरेका हात्तीले आक्रमण गर्दा भीमदत्त नगरपालिका–१९, बागफाँटाका स्थानीय छक्कु डगौरा घाइते भएका थिए । 
 

प्रतिक्रिया