प्रेमिल अभिवादनसहित प्रिय काका, दर्शन ढोक छ
दुइ वर्षदेखि टाढा रहेर आज म तपाईंलाई यो पत्र लेख्दै छु । यहाँ परदेशको चिसो हावा, अपरिचित संस्कृतिको भीड र दौडधुपले घेरे पनि तपाईंको अनुहार हरेक दिन मेरो आँखामा झल्किरहन्छ । जब थकाइ लाग्छ, तपाईंको संघर्षको कथा सम्झेर म आफ्नो बाटो सम्हाल्छु ।
जनयुद्धको कठिन यात्रामा तपाईंले लेखेका ती पानाहरू अझैँ पनि मेरो मनमा ताजा छन् । ‘मिति २०..., यति महिना, यति गते, यति बजे हाम्रो यात्रा यहाँबाट यहाँसम्म भयो’ भनेर टिपोट गर्नुभएको ती शब्दहरूले मलाई सानैमा जीवनको पाठ सिकाएको थियो । तपाईंको बाकसमा अझै पनि ती कापीका पाना र सिद्धान्तका किताबहरू सुरक्षित होलान् जस्तो लाग्छ ।
संघर्षले मान्छेलाई गरिव बनाउन सक्छ, तर आत्मसम्मानले सधैँ धनी बनाउँछ ।
जनयुद्धमा लड्नेहरू राष्ट्रका गौरव हुन्, जसका सपना पूरा गर्नु नयाँ पुस्ताको जिम्मेवारी हो ।
काका, तपाईंले आफ्नो जीवनका १० वर्ष जनयुद्धमा अर्पण गर्नुभयो । कहिले भोकै, कहिले नाङ्गै खुट्टा, पहाडका पगाहा काट्दै र खोलानालाको चट्टान चढ्दै, भोकसँग लड्दै अगाडि बढ्नुभएको थियो । तपाईंका कतिपय साथीहरु आज संसारमै रहेनन्, कोही राजनीति र नेतृत्वको उचाइमा पुगे । तर तपाईं, मेरो काका, अझै गाउँकै कठोर जिन्दगीसँग जुधिरहनु भएको छ ।
कहिलेकाहीँ मन भत्किन्छ । जसले राष्ट्रको लागि पसिना र रगत बगायो, उहीँ आज खेतमा पसिना बगाएर जीवन धान्न विवश छ । तपाईंले गरेको त्याग र बलिदानको मूल्य किन अझै तौलिन सकिएन, त्यो पाटीले ?
मलाई थाहा छ, तपाईंलाई धनको मोह थिएन, पदको लोभ थिएन । न्याय र समानताको सपना बोकेर जंगल पसेका मान्छे हुनुहुन्थ्यो । तर, समयले कस्तो जवाफ दियो तपाईंलाई ?
जसले राष्ट्रको लागि पसिना र रगत बगायो, उहीँ आज खेतमा पसिना बगाएर जीवन धान्न विवश छ । तपाईंले गरेको त्याग र बलिदानको मूल्य किन अझै तौलिन सकिएन, त्यो पाटीले ?
यहाँ परदेशको भीडमा म जब विहानै कारखानाको ढोका ढकढक्याउँछु, तपाईंलाई सम्झन्छु । घाममा पसिना बगाउँदा तपाईंका नाङ्गा खुट्टाले काटेको यात्रा सम्झिन्छु । मसँग पैसा आउँछ, तर तपाईंको जस्तो आत्मसम्मान छैन । तपाईं गरिव हुनुहुन्छ, तर तपाईंको भित्री गर्व संसारकै सम्पत्ति भन्दा ठुलो छ ।
काका, तपाईंको संघर्षले मलाई जीवनको साँचो परिभाषा सिकाएको छ—संघर्ष गर्ने हिम्मत । म यहाँ बसेर घर बनाउन सकें भने त्यो मेरो जित होइन, तपाईंको अधुरो सपना पूरा गर्ने प्रयास मात्र हुनेछ ।
तर, कहिलेकाहीँ यो नियति अत्यन्तै अन्यायपूर्ण लाग्छ । १० वर्ष युद्धमा पसिना, आँसु र रगत बगाएको मान्छे अझै पनि गरिबीको चक्रमा बाँधिएको छ । तपाईंका साथीहरूले कहिलेकाहीँ फोन गरेर युद्धकालको सम्झना सुनाउँछन्– ‘ए नरबहादुर दाइ, कस्तो दिन थियो हो त्यो ? बारुदको वर्षा झेलेका ।’ तर तपाईंको मनभित्र त्यतिबेला कस्तो पीडा जाग्छ होला ? किनकि उनीहरू कहाँबाट कहाँ पुगे, तपाईं भने उहीँ अवस्थामा ।
मलाई लाग्छ, तपाईंले देखेका सपना अझै अधुरै छन् । तर तपाईं कहिल्यै गुनासो गर्नुहुन्न । तपाईंले मलाई भनेको वाक्य अझै मेरो मनमा गुञ्जिरहेछ— ‘भतिज, म धनका लागि लडिनँ, म सम्मानका लागि लडिनँ । म भविष्यका लागि लडेँ । मलाई त केवल त्यो भविष्य देख्न मन छ ।’
यिनै शब्दहरूले मलाई यहाँ विदेशी भूमीमा टिकाइराखेको छ । तपाईंको युद्धको कथा सम्झँदा म आफ्नो कठिन श्रमलाई सानो ठान्छु । म पैसाका लागि बाँचेको छु, तर तपाईं न्यायका लागि बाँचेको आत्मा हुनुहुन्छ ।
काका, तपाईंको जीवन मेरो प्रेरणा हो । तपाईंका नाङ्गा खुट्टा, भोक र आँसु नै मेरो जीवनका पाठशाला हुन् । म बाचा गर्छु— तपाईंको अधुरो सपना अधुरो नराख्ने प्रयास गर्नेछु । संसारले तपाईंलाई बिर्सन सक्छ, तर तपाईंको बलिदान मेरो रगतमा बाँचिरहेको छ ।
तपाईंलाई एक्लोपन नलागोस् भनेर म यो पत्र लेख्दै छु । तपाईंको जीवन हारको कथा होइन, यो देशको इतिहासको गौरव हो ।
(लेखक माल बैतडीको डिलाशैनी गाउँपालिका–६, नेगाउँका हुन् । हाल उनी रोजगारीका लागि पोल्याण्डमा छन् ।)
प्रतिक्रिया