धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. ३, बोराडाँडीका मनोज पडालले च्याउ उत्पादन गर्न थालेको १२ वर्ष भयो । यो १२ वर्षमा मनोजले च्याउ उत्पादक उद्यमी मात्रै भएनन्, उनले सुदूरपश्चिम प्रदेशमै पहिलो च्याउ स्रोत केन्द्र स्थापना गरी किसानलाई च्याउ उद्यमी समेत बनाइरेका छन् ।
मनोजको फारवेष्टर्न एग्रो फर्ममा स्थापना गरिएको च्याउ स्रोत केन्द्रसंग जोडिएर सयौं किसानहरु च्याउ उत्पादनमा जोडिएका छन् । जसले गर्दा सुदूरपश्चिम प्रदेशमा उत्पादन भएको च्याउ सिजनमा लुम्बिनी प्रदेशको कोहलपुरसम्म विक्री हुन थालेको छ । ‘कम–कम उत्पादन भएको बेलासम्म लोकल मार्केटमै विक्री हुन्थ्यो,’ उनले भने, ‘अहिले धेरै उत्पादन हुन थालेको छ । जसले गर्दा यहाँको मार्केटमा मात्रै उत्पादन खपत हुँदैन । कोहलपुरसम्मका मार्केटमा लगेर विक्री गरिरहेका छौं ।’
सुदूरपश्चिम प्रदेशमै सबै भन्दा बढि च्याउ उत्पादन गरिरहेका मनोजले विभिन्न छ ठाउँमा फर्म स्थापना गरी १५० वटा भन्दा बढि तहरा (टनेल) बनाएका छन् । यि तहराहरुबाट कम भएको दिन ५५० किलो र बढि भएको दिन एक हजार किलोसम्म च्याउ उत्पादन हुने गरेको उनले बताए । उनले धनगढी–३, बोराडाँडीमा चार र मोहनापारी कञ्चनपुरको चपरतला गाउँमा दुई वटा फार्म स्थापना गरेको बताए । ‘थोरै–थोरै गर्दा धेरै लगानी भइसक्यो,’ उनले भने, ‘च्याउको बीउ उत्पादन गर्ने ल्याबमा मात्रै ७०-८० लाख लागेको छ । डेढ सय जति टहरा छन् । फार्ममा ४० जना स्टाफ छन् । प्रत्येक वर्ष लगानी थप्दै गर्दा दुई करोड रुपैयाँसम्म लगानी पुगेको छ ।’
साधारण किसानलाई उत्पादन विक्री गर्न नै कठिन भइरहेको बेला मनोजले च्याउ उत्पादनमा अझै धेरै सम्भावना र अवसर देखेका छन् । ‘जति धेरै उत्पादन बढाउन सक्यो, त्यति नै धेरै सम्भावना र अवसर छ,’ उनले भने, ‘कृषि व्यवसाय किसानले कसरी गरिरहेको छ भन्ने विषयमा लगानी असुल हुने नहुने कुरामा भर पर्छ,’ ‘मेरा सबै स्टाफलाई तलब दिएर र अन्य खर्चहरु गरेर आफूलाई पनि राम्रै बचिरहेको छ । कृषिबाट म राम्रो सम्भावना देखेको छु । कृषि पेशाले मलाई जीवनमा धेरै खुशी दिएको छ । म यो पेशाबाट एकदमै सन्तुष्ट छु । यसमा काम धेरै छन् । त्यति धेरै काम हुन्छ कि गर्नका लागि समय नै पुग्दैन ।’
गैरसरकारी संस्थामा काम गर्दा–गर्दैै कृषि व्यवसायमा होमिएका मनोजले किसानहरुलाई च्याउ उत्पादनका लागि विभिन्न सहयोग गर्नुका साथै च्याउ उत्पादनका सम्भावना र च्याउको बीउ उत्पादनका लागि निरन्तर अध्ययन पनि गरिरहेका छन् । ‘गैरसरकार संस्थाबाट हामीले विद्यार्थीहरुसंग काम गथ्र्यौ,’ उनले विगत सम्झिए, ‘विद्यार्थीसंग काम गर्दा अभिभावकको आयआर्जन बढाउने कम्पोनेन्ट पनि थियो । अभिभावकहरुलाई कृषिमा सपोर्ट गर्ने क्रममा च्याउ उत्पादन पनि हुनुपर्छ भन्ने कार्यक्रम थियो । त्यस बेला हामीले बाहिरबाट प्रशिक्षक बोलाएर अभिभावकलाई तालीम दियौं । त्यो बेला एकदमै राम्रो च्याउ उत्पादन भयो । त्यो देखेर मैले धनगढीमा पनि च्याउ खेती गर्न सकिन्छ भन्ने थाहा पाए । त्यो बेला हामीले बर्दियामा ट्रायल गरेका थियो । त्यसपछि मैले धनगढीमा आफैले च्याउ खेती गर्न थाले । शुरुका दिनमा धेरै प्राविधिक त्रुटीहरु हुन्थे । विस्तारै सिक्दै जाँदा दुई तीन वर्ष समय लाग्यो । अबका किसानहरुलाई सिक्नका लागि यति धेरै समय लाग्दैन । मसंग जोडिएर काम गर्ने किसानलाई मैले सपोर्ट गर्छु ।’
२०७० देखि च्याउ खेती शुरु गरेका मनोजले २०७२ बाट फर्म दर्ता गरेर व्यवसायिक च्याउ उत्पादन थालेका थिए । अहिले उनको फार्मबाट बाह्रै महिना च्याउ उत्पादन हुने गरेको छ । ‘धेरै गर्मी भयो भने बैशाख जेठ तिर होल्ड हुन्छ,’ उनले भने, ‘तर बीउको तयारी चलिरहेकै हुन्छ ।’
च्याउ उत्पादनसंगै उनले च्याउ प्रशोधनको सम्भाव्यता अध्ययन र विभिन्न अभ्यास पनि गरिरहेको बताए । ‘उत्पादन भएको च्याउको प्रशोधन गर्ने प्रयास पनि गरेको थिए,’ उनले भने, ‘तर त्यसमा पनि लागतकै कुरा आउँछ । प्रोसेसिङ, ब्राण्डिङ, प्याकेजिङ, लेबलिङको कुराहरुमा पनि लगानी नै आवश्यक पर्छ । तरपनि, यस विषयमा म अध्ययन र अनुभव गरिरहेको छु । गतवर्ष मैले च्याउको अचार र सुकुटी बनाए । च्याउको मस्यौरा समेत बनाएका थियौं । त्यसबाट उपभोक्ताहरुको राम्रो प्रतिक्रिया आएको थियो । यही कुरालाई ब्राण्डिङ लेबलिङ गर्यौ भने भ्यालु एड गरेर बजार ल्याउन सकिन्छ ।’
प्रदेशमा च्याउको उत्पादन दिन प्रति दिन बढिरहेकोले यसलाई विभिन्न परिकार बनाएर बजार ल्याउनेतिर ध्यान दिइरहको मनोजले बताए । ‘यसप्रति किसानहरु यस प्रति दिन आकर्षित भइरहेका छन्, उत्पादन पनि बढिरहेको छ,’ उनले भने, ‘कुनै न कुनै दिन आवश्यकता भन्दा बढि उत्पादन हुन्छ । त्यही भएर अहिले नै प्रेशेसिङ कसरी गर्ने भन्ने विषयमा अध्ययन चालु छ । केही समयभित्रै हामी यो गर्छौ । म यसको प्रयासमै छु ।’
विभिन्न रंग र थरीका च्याउहरुको परीक्षण उत्पादन गरिरहेका मनोजले व्यवसायिक रुपमा कन्यच्याउ र त्यसको बीउ उत्पादन गर्ने गरेको बताए । ‘धेरै प्रजातिको बीउ, १५-२० प्रजातिको परीक्षण उत्पादन गरेका छौं,’ उनले भने, ‘हामीसंग ति च्याउको बीउ पनि छ । हामीले वातावरण कन्ट्रोललाई कम गरेका छौं । प्राकृतिक वातावरणमै उत्पादन गरिरहको छौ । जसले गर्दा कम लगातमा बढि कन्य च्याउ उत्पादन लिन सकेरहेका छौ । कन्य च्याउ भन्दा अरु च्याउको उत्पादन लगात बढि छ र बढि व्यवस्थित तरिकाले उत्पादन गर्नुपर्ने हुन्छ । बहुमुल्य प्रजातिका च्याउहरु छन् । जसको औषधिय गुणहरु हुन्छ । मानव शरिरमा रोगहरुसंग लड्न सक्ने क्षमताको विकास गर्छ । तर, ति च्याउको उत्पादन लागत बढि हुने र महंगोमा विक्री गर्नुपर्ने भएको हुँदा त्यातिर जान सकिएको छैन । त्यसप्रति लाग्ने प्रयास हामीले निरन्तर गरिरहेका छौं ।’
च्याउ उत्पादन, च्याउ उत्पादनमा किसानलाई जोड्ने, च्याउ प्रशोधन तथा च्याउको प्रजातिहरुको उत्पादन सम्बन्धी सम्भाव्यता समेत गरिरहेका मनोजले देशको अर्थतन्त्र सुधार्न सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताउँछन् । ‘कृषिलाई व्यवस्थित गरेको भए युवाहरुले राम्रो रोजगार पाउन सक्छन्,’ उनले युवाहरुलाई समेत सुझाव दिए, ‘युवाहरुले रोजगारीको लागि विदेशुपर्ने बाध्यता केही भएपनि कम भएको हुन्थ्यो । हामीले देशबाट अपेक्षा गर्नु भन्दा आफैले पनि प्रयास गरेपछि एक दिन अवस्य सफल भइन्छ । सरकारलाई हेर्दै आफ्नो काम आफै गर्दै जाँदा कुनै न कुनै दिन हामी सफल भइन्छ ।’
प्रतिक्रिया