ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुरु भयो गौरा पर्व, यसरी मनाइन्छ

बिहिबार १२, भदौ २०८२ ०७:५३

धनगढी । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । प्रदेशका नौ जिल्लासँगै सुदूरपश्चिमेलीहरूले बसोबास गर्दै आएका अन्य क्षेत्रमा समेत मनाइँदै आएको गौरा पर्व सुरु भएको हो ।

पञ्चमीदेखि सुरु हुने यो पर्वको आज पहिलो दिन घरघरमा बिरुडा भिजाइँदै छ । आजको दिनलाई बिरूडा पञ्चमीका रूपमा मनाउने गरिएको छ । आजको दिन पाँचथरी गेडागुडी (गहत, गहुँ, केराउ, मास र गुराँस) लाई संकलन गरेर विधिवत् कर्मकाण्ड र फाग गाउँदै भिजाउने गरिएको छ ।

गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप संकलित बिरूडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाएर मांगलिक पूजाआजाका साथ व्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम गर्ने गरिएको छ । आज भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन फाग, धमारी चाचरी, सगुना, डेउडालगायतका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ ।

सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन छ । अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ ।

त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडाजस्ता गीत गाउने र डेउडा खेल्ने चलन छ ।

पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ । सोहीअनुसार गौरा पर्व मनाइँदै आएको पाइन्छ । भगवान् शिव र पार्वतीको पूजा आरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया