धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख दुई दलबीचको सहमतिअनुसार संविधान संशोधनको विषयमा प्रवेश गर्नका केही समस्या रहेको बताएका छन् । सोमबार कैलालीको अत्तरियामा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘संविधान संशोधनको विषयमा एउटा कारणले समयको प्रतिक्षा गरेका छौं,’ महासचिव पोखरेलले भने, ‘सरकारमा नरहेका दलहरु सरकारले अगाडि सारेका मुद्धामा छलफल गर्न सकारात्मक छैनन् । वातावरण त बनाउनुपर्छ, नबन्दासम्म संविधान संशोधन जस्तो मुद्धामा अगाडि बढ्न सकिन्न ।’
महासचिव पोखरेलका अनुसार राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरुको बहुमत पुग्ने सुनिश्चित नभएका कारण पनि सरकारले संविधान संशोधनको सहमतिलाई अगाडि बढाउन नसकेको हो ।
‘पाँच/छ महिनापछि राष्ट्रियसभाका १९ सिट खाली हुन्छ,’ उनले भने, ‘दुवै दल मिलेर त्यसमा सफलता प्राप्त गर्छाैं । अनुकुलता निर्माण गर्छाैं । त्यसपछि संविधान संशोधनको विषयमा व्यवस्थित रुपमा प्रवेश गर्छाैं । हामीले जे भनेका छौं, त्यो काम गर्नकै लागि सरकारमा पुगेको हौं ।’
महासचिव पोखरेलले राजनीतिक स्थायित्व, सुशासन कायम गर्ने र आर्थिक संकटलाई समाधान गर्ने उद्येश्यअनुसार सरकार बनेको बताउँदै त्यसमा सरकार सफल भएको दाबी गरे ।
एक वर्षअघि कांग्रेस–एमालेबीच राजनीतिक समझदारी बन्दा संविधान संशोधनको विषयमा बहस सुरु भयो । प्रमुख दुई दलबीच सत्ता समीकरण फेर्नेसँगै निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्ने तहको समझदारी बनेको थियो । तर, उक्त समझदारीको एक वर्ष बितिसक्दा सम्म एमाले नेतृत्वको सरकार संविधान संशोधनको विषयमा प्रवेश गरेको छैन ।
प्रतिक्रिया