ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

६७७ दिनदेखि दाई पर्खिरहेकी एक बहिनीको कथा : भन्छिन्, ‘मन भक्कानिन्छ’

बिहिबार २९, साउन २०८२ ०४:२०

धनगढी । उनलाई अझै सम्झना छ, त्यो भदौ १४ । १२ दिनपछि इजरायलका लागि उड्ने दाईलाई छोड्न उनी, परिवार (आमाबुवा)सहित कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्क पुगेकी थिइन् । परिवारबाट छुट्टिएर परदेश गइरहेका दाईका आँखामा आँसु थिए । बहिनीले पनि रुँदै हात हल्लाएर दाईलाई बिदा गरेकी थिइन् । ती दाई हुन्, झण्डै दुई वर्षअघि हमासले बन्धक बनाएका भनिएका विपिन जोशी । अनि बहिनी हुन्, १८ वर्षीया पुष्पा । 

पछिल्लो दुई वर्षदेखि पुष्पाको दैनिकी फेरिएको छ । दिनको चार÷पाँच पटक दाई विपिनसंग टेलिफोनमा कुराकानी गरेर दिनभरीका गतिविधि सुनाउने पुष्पाले दाईको आवाज नसुनेको छ सय ७७ दिन भइसकेको छ । २० असोज २०८० देखि उनका दाईले फेसबुक म्यासेन्जरमा पनि रिप्लाई गरेका छैनन् । गरुन पनि कसरी ? उनी आफैँ सम्पर्कविहीन छन् । दाईको पखाईमै दिन बिताइरहेकी पुष्पा अहिले दाई खोज्दै इजरायल पुगेकी छिन् । संगै छिन् उनकै आमा पदमा पनि । 

दुई वर्षको अवधिमा दाईको रिहाइका लागि कहिले नेताहरुकहाँ त कहिले शान्तिपूर्ण प्रदर्शनमा पुगेकी हुन्छिन् उनी । ‘कञ्चनपुरबाहिर नगएकी मैले अहिले पुग्न बाँकी ठाउँ कतै राखेकी छैन,’ इजरायल जानुभन्दा केही समयअघि उनले भनेकी थिइन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई कयौं पटक भेटिसकेका छौं । सबैले आश्वासन मात्रै दिन्छन् । तर दाई कहिले फर्किने हुन् टुंगो छैन ।’ 

विपिन पुष्पाका दाई मात्रै थिएनन्, सबै कुरा सेयर गर्ने साथीजस्तै थिए । ‘दिनभरीका गतिविधि र लक्ष्य–उद्येश्यका विषयमा मैले कुरा सेयर गर्ने भनेकै दाईसंग हो,’ उनी भन्थिन्, ‘दाईसंग कुरा सेयर गर्न नपाएको पनि धेरै भइसकेको छ । न त पढाईमा ध्यान दिन सकेकी छु न त अन्य काममै ध्यान हुन्छ ।’

पुष्पालाई बुवा महानन्द र आमा पदमाको अनुहार हेर्दा झन बढी पीडा हुन्छ । ‘आमाबुवाका आँसु थामिएका छैनन्,’ उनी भन्छिन्, ‘उहाँहरुलाई हेरेपछि मेरो पनि मन भक्कानिन्छ । सम्हाल्नै गाह्रो हुन्छ ।’ कञ्चनपुरकै रेडियन्ट कलेजमा कक्षा अध्ययनरत् पुष्पालाई दाई विपिनको घर फिर्ती हुनेमा भने अझै पनि विश्वास छ । ‘झण्डै दुई वर्षसम्म दाईलाई देख्न नपाए पनि कतैबाट त्यस्तो नराम्रो खबर आएको छैन,’ उनले भनिन्, ‘एकदिन त अवश्य फर्किनुहुन्छ होला भन्ने विश्वास छ । सोही विश्वासका साथ दैनिकी वितिरहेको छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन ०८० साल भदौ २६ गते सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनी इजरायल पुगेको २५ दिनमै ०८० साल असोज २० गते हमास समूहले त्यहाँ आक्रमण गरेको थियो । सो आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई हमास समूहले बन्धन बनाएको भनिएको छ । तर, हमास समूहले अहिलेसम्म विपिनको अवस्थासमेत सार्वजनिक गरेको छैन । विपिनलाई दुई वर्षसम्म कसैले देख्न पनि पाएको छैन । 

झण्डै दुई वर्षसम्म दाई फिर्ता नभएपछि अहिले पुष्पा आमा पदमलाई संगै लगेर इजरायल पुगेकी छिन् । पुष्पाले इजरायल पुग्नासाथ आफ्नो दाइलाई घर फर्काइदिन आग्रह गरेकी थिइन् । ‘हामी केवल उहाँलाई फर्काउन चाहन्छौं,’ उनले भनेकी थिइन्, ‘यो हाम्रो परिवारका लागि अत्यन्त पीडादायक भइसकेको छ । झन्डै दुई वर्ष भइसक्यो । हामी निरन्तर उहाँको अवस्थाबारे चिन्तित छौं, उहाँ के गर्दै हुनुहुन्छ होला, खाना पाइरहनु भएको छ कि छैन, औषधि पाउनु भएको छ कि छैन ।’

यस्तै इजरायलमै रहेकी पुष्पाले सामाजिक सञ्जालमा पनि एउटा भिडियो सार्वजनिक गरेकी छिन् । उनले विपिनको रिहाइका लागि दबाब बढाइदिन सम्पूर्ण नेपालीलाई आग्रह गरेकी छिन् । 

प्रतिक्रिया