धनगढी । नागरिक समाजले प्रशासनको चरम लापरबाहीका कारण कैलाली कारागारमा हिसांत्मक घटना भएको ठहर गरेको छ । आज विज्ञप्ति जारी गर्दै घटनास्थलगत निरीक्षणका क्रममा घाइते र घाइतेका परिवारजनबाट प्राप्त प्रारम्भीक जानकारीअनुसार सुरक्षा र प्रशासनको चरम लापरबाहीका कारण उक्त घटना भएको नागरीक समाजले ठहर गरेको उल्लेख गरिएको छ ।
‘जिल्ला कारागार कैलालीमा साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपका कारण एक जनाको मुत्यु र ४९ जना कैदीबन्दीहरु घाइते भएको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको स्थलगत निरीक्षणका क्रममा घाइते र घाइतेका परिवारजनबाट प्राप्त प्रारम्भीक जानकारीअनुसार सुरक्षा र प्रशासनको चरम लापरबाहीका कारण उक्त घटना भएको नागरीक समाजको ठम्याई रहेको छ ।’
नागरिक समाज संस्थाहरुले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेहरुको अवस्थाबारे आफन्तलाई जानकारी गराउनपर्ने माग पनि गरेका छन् ।
‘घाइतेको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिई आवश्यक उपचार गरिनुपर्ने र सत्यतथ्य छानबिनका लागि मानव अधिकारकर्मी र नागरीक समाजको समेत प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । कारागारमा क्षमताभन्दा अत्यधिक कैदीबन्दी राखिएको कारणले पनि यसप्रकारका घटनाहरु दोहोरीरहने भएकोले आवश्यक भौतिक संरचना निर्माण गरी कैदीबन्दीहरुको मानव अधिकारको संरक्षण र सम्बर्धन गर्नका लागि नागरिक समाज कैलालीले माग गरेको छ ।
प्रतिक्रिया