ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सिडिओले `समस्या छैन´ भनेकै राति कसरी भयो कारागारमा हिंसात्मक झडप ?

शनिबार २४, साउन २०८२ ०४:४४

धनगढी । ‘कैदीबन्दीलाई स्थान्तरण (सरुवा) गर्ने क्रममा केही प्रतिरोध भएको थियो,’ शुक्रबार दिउँसो सञ्चारकर्मीसंग कुराकानी गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भनेका थिए, ‘हामीले उनीहरुलाई सम्झाउने र बुझाउने काम गरिरहेका छौं । अब समस्या आउँदैन ।’

प्रमुख जिल्ला अधिकारी हमालले १५ दिनसम्म कैलाली कारागारमा सुधारका कार्यक्रम सञ्चालन गर्ने पनि बताएका थिए । शुक्रबार नै कैलाली कारागारको सुरक्षा रणनीति पनि फेरिएको थियो । ‘पुराना सुरक्षाकर्मी सबैलाई हटाएर नयाँ सुरक्षाकर्मी परिचालन गरिएको छ,’ सिडिओ हमालले भनेका थिए । 

तर, प्रमुख जिल्ला अधिकारी हमालले ‘अब समस्या आउँदैन’ भनेकै राति कैलाली कारागारमा हिंसात्मक झडप भयो । ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान नै गयो । ४७ जना घाइते भए । अहिले कारागारको अवस्था तनावग्रस्त छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी हमालसहित सुरक्षा अधिकारी र मानव अधिकारीको टोलीलाई पनि जेलमा छिर्न दिएका छन् । जसका कारण शुक्रबार रातिको झडपमा भएको क्षतिको अवस्थाबारे पनि प्रहरी प्रशासन जानकार छैन । कारागारभित्र रहेका कैदीबन्दीका आफन्तले भने अहिले भेट्न पाइरहेका छन् । 

कारागार प्रशासनले दिएको जानकारीअनुसार शुक्रबार बिहानैदेखि ब्लक ‘ए’ र ब्लक ‘बी’का कैदीबन्दीबीच ढुंगा हानाहान नै भइरहेको थियो । अवस्था असामान्य भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी हमाल, कैलाली प्रहरी प्रमुख बालनरसिंह राणासहित सुरक्षा समितिको टोली कारागार पुगेको थियो ।

उनीहरुले दुबै ब्लकका कैदीबन्दीसंग छुट्टाछुट्टै छलफल गरेका थिए । ‘पाँच/सात जनाको समूह बनाएर कैदीबन्दीसंग छुट्टाछुट्टै प्रमुख जिल्ला अधिकारीज्यूले छलफल गर्नुभएको थियो,’ कारागार स्रोतले भन्यो, ‘छलफलका क्रममा ब्लक बीका कैदीबन्दीहरुले आफूहरु ब्लक एका कैदीबन्दीबाट असुरक्षित भएको बताएका थिए । सिडिओ सापले दुबै पक्षलाई सम्झाउनु भएको थियो ।’ प्रमुख जिल्ला अधिकारीसंग छलफलका क्रममा केही कैदीबन्दीले आफूहरुको ज्यान जोखिममा रहेको पनि बताएका थिए । 

कैलाली कारागारका खरिदार रामप्रसाद चौधरीका अनुसार प्रमुख जिल्ला अधिकारीसंग छलफल भएपछि कारागारको अवस्था सामान्य भएको थियो । ‘कैदीबन्दीसंग समस्याबारे सोधेका थियौं, कतिपय कैदीबन्दीले खानाको छुट्टै व्यवस्थाको माग गरेका थिए,’ खरिदार चौधरीले भने, ‘हामीले त्यसको पनि व्यवस्था गरिसकेका थियौं । दुबै पक्ष ताली बजाएर भित्र गएका हुन् । अब त समस्या नपर्ला भनेर बेलुका छ बजे घर गएका थियौं । राति ढुंगामुडा हुन थाल्यो भनेर कार्यालय सहयोगीले फोन गरेपछि मैले सिडियो सरसंग कुरा गरेको थिए ।’

कारागार प्रशासनका अनुसार ब्लक ‘ए’मा रहेका कैदीबन्दीले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि राति आक्रमण गरेका थिए । उनीहरु वेल्डिङ गरेर बनाइएको ढोका फोडेर ब्लक बीमा प्रवेश गरेका थिए । जिमखानामा रहेका सामाग्री प्रयोग गर्दै कुटपिट भएको खरिदार चौधरीले बताए । 

कैलालीमा विगतदेखि नै विभिन्न समूह अपराधिक गतिविधिमा संलग्न थियो । उक्त समूहका केही व्यक्ति कारागार चलान भएपछि कारागारमा पनि झडपको अवस्था आइरहेको सुरक्षा अधिकारी बताउँछन् ।

पछिल्लो डेढ महिनामा दुई पटक गरी भूपेन्द्र बडुवाल हत्या प्रकरणका १७ जनालाई पूर्वी नेपालका विभिन्न कारागारमा सरुवा गरिएको छ । कारागार प्रशासन स्रोतले भन्यो, ‘ती १७ जनाको सरुवाअघि कारागारभित्र उनीहरुकै चल्ने गरेको थियो । उनीहरुको सरुवा भएपछि नयाँ समूह बनाएर कारागारभित्र दबदबा चलाउन प्रतिस्पर्धा नै चलेको छ । सोही क्रममा झडप पनि भइरहेको हो ।’

प्रमुख जिल्ला अधिकारी हमालका अनुसार कैलाली कारागारभित्र ग्रुपिजमको अवस्था पनि देखिएको छ । कैलाली जिल्लामा भएका पछिल्ला अपराधिक गतिविधिमा पनि कारागारभित्रैबाट परिचालित भएको आशंका हमालको थियो ।

‘कैलाली जिल्लामा घटेका घटनाको प्रकृति र प्रवृत्ति हेरियो भने कतै न कतै समस्या देखिएको छ,’ सिडिओ हमालले शुक्रबार भनेका थिए, ‘यो विषयलाई मध्यनजर गरेर गृहमन्त्रालयले केही कैदीबन्दीलाई त्यो ठाउँबाट सरुवा गर्नुपर्छ भनेर केहीको सरुवा पनि भयो । अब ठुलै मासमा स्थानान्तरण गर्नुपर्छ भनेर पनि अध्ययन भइरहेको छ ।’

प्रतिक्रिया