ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारमा कैदीबन्दीबीच किन भयो कुटाकुट ?

बिहिबार २२, साउन २०८२ ०८:४९

धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको कुटाकुटमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार घाइते पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार लागुऔषध मुद्धाका राहुल रानाको टाउकोमा गहिरो चोट लागेको छ । यस्तै धिरज बम, मोहन राना, बिषेशनाथ योगी र हिमाल राना पनि घाइते भएका छन् । `कैदीबन्दीको सरुवाको कुरा उठेपछि त्यसमा असहमतहरुबीच नै विवाद भएको हो,´ जोशीले भने, `अहिले विवाद साम्य भएको छ ।´

कैदीबन्दीबीच कुटाकुट भएपछि कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणा, डीएसपी राजकुमार सिंह पनि कारागार पुगेका थिए । 

केही दिनअघि पनि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए । २८ असारमा कारागारमा कुटाकुटको अवस्था सृजना भएको थियो । कारागारका नाइके खगेन्द्र बोगटी कुटिएका थिए ।

नाइकेमाथि कुटपिट भएपछि कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरूद्व नाराबाजी समेत गरेका थिए । उनीहरुले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

नाइकेमाथि कुटपिट हुनअघि २६ असारको राति प्रमुख जिल्ला अधिकारी गोगन हमाल नेतृत्वको टोलीले कारागार निरीक्षण गरेको थियो । सो क्रममा ब्लक ए मा रहेका कैदीबन्दीहरुसंग मोबाइल फेला परेको थियो । त्यसको भोलिपल्ट ब्लक ए मा रहेका सात जना कैदीबन्दीलाई ब्लक बी मा सारिएको थियो ।

यसअघि कैलाली कारागार कैदीबन्दीको चाहनाजस्तै चलेको र अहिले कारागारमा केही सुधार गर्न खोज्दा विवाद भइरहेको स्थानीय प्रशासनको तर्क छ ।

कैलालीमा विगतदेखि नै विभिन्न समूह अपराधिक गतिविधिमा संलग्न हुँदै आएका थिए । ती समूहका केही व्यक्ति अहिले कारागार चलान भएपछि कारागारभित्र पनि कुटाकुटको अवस्था निम्तिएको बताइएको छ । 

प्रतिक्रिया