ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको स्थायी राजधानी धनगढी बनाउने गृहकार्य : गोदावरीमा हलचल

सोमबार १२, साउन २०८२ १२:१८

धनगढी । कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा अलमल भएपछि अस्थायी राजधानीलाई नै स्थायी बनाउने गृहकार्यमा सुदूरपश्चिम सरकार छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले काँग्रेस, एमाले र माओवादी केन्द्रका केन्द्रीय नेतृत्वसँग छलफल गर्दै गोदावरीको विकल्प खोज्न प्रयास गरिरहेका छन् । 

यसअघि पटकपटक राजधानीका विषयमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गरिसकेका मुख्यमन्त्री शाहले केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पनि छलफल गरेका छन् । 

उनले गोदावरीको विकल्पका रूपमा धनगढीमै स्थायी राजधानी निर्माण गर्न गृहकार्य भइरहेको र त्यसमा सघाउन आग्रह गरेका छन् । त्यसका लागि काँग्रेस, एमाले र माओवादी तीन वटै दललाई सहमतिमा लिएर राजधानी फेरबदलको प्रस्ताव प्रदेशसभामा लैजाने प्रयास भइरहेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । 

राजधानीबारे निर्णय गर्न दुई तिहाइ मत आवश्यक पर्दछ । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिइसकेको छ । सरकारमा रहेका काँग्रेस र एमाले मात्रको दुई तिहाइ मत पुग्दैन ।

सरकारले धनगढीलाई नै स्थायी राजधानी तोकेर हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको १३ बिघा क्षेत्रफल रहेको जग्गामा प्रदेश मन्त्रालयलगायतका संरचना निर्माण गर्ने विकल्प खोजिरहेको छ ।

अस्थायी राजधानी तोकिएदेखि हालसम्म धनगढीमा रहेका अस्थायी संरचनाहरूबाट प्रदेश सरकारले कामकाज चलाइरहेको छ । अस्थायी राजधानीमै संरचना निर्माणमा ठुलो बजेट खर्च भइसको छ ।

१२ असोज २०७५ मा पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बर वडाको वन क्षेत्रलाई सुदूरपश्चिम प्रदेशको राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । तर, सात वर्षसम्म पनि राजधानी स्थापनाका लागि प्रदेश सरकारले गोदावरीको जग्गासमेत प्राप्त गर्न सकेको छैन ।

जग्गा प्राप्तिमा मात्रै समस्या नभएर गोदावरीमा राजधानी बनाउन कानुनी जटिलता पनि रहेको सरकारी अधिकारीहरु बताउँछन् । गोदावरी राजधानी घोषणाको विरुद्वमा परेका मुद्वा पनि अहिलेसम्म विचाराधिन अवस्थामा छन् । गोदावरीमा स्थायी राजधानी बनाउन सम्भव नदेखिएको भन्दै प्रदेश सरकार विकल्प खोज्ने गृहकार्यमा लागेको हो ।

यस्तै, सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी धनगढीमा कायम गर्ने चर्चा चलेपछि कैलालीको गोदावरी नगरपालिकावासी सशङ्कित भएका छन् । प्रदेश सरकारले आफैँले दुई तिहाइ बहुमतले टुङ्गो लगाएको ठाउँबाट राजधानी सार्ने चेस्टा भइरहेको भन्दै उनीहरू सशङ्कित भएका हुन् । राजधानी सार्ने कुरा बाहिरिएपछि उनीहरूले सङ्घर्षको तयारी गर्न थालेका छन् । 

सामाजिक अगुवा राजेन्द्र खड्काले सरकारले गोदावरीमाथि अन्याय गरे जस्तोसुकै सङ्घर्ष गर्ने चेतावनी दिए । प्रदेश राजधानी तोकिएकै ठाउँमा हुनुपर्ने युवा नेता शंकर खड्काको भनाइ छ ।

प्रतिक्रिया