ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय सच्याउन रास्वपाको माग

बुधबार ३२, असार २०८२ ०३:११

धनगढी । सरकारले डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा बिन्दुबाट हटाएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराले आपत्ति जनाएको छ । रास्वपाका जिल्ला सभापति इन्जिनियर सुरेन्द्र अवस्थीले बुधबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाको लाभ लिन पाउने नागरिकको हक प्रतिकुल हुने गरी गरिएको अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय सच्याउन माग गरेका छन् ।

नेपाल सरकारअन्तर्गत स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचारका लागि डडेल्धुरालाई प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको छ । रास्वपा डडेल्धुराले उक्त निर्णयप्रति गम्भीर असहमति र खेद व्यक्त गरेको छ । 

‘जनताको पहुँचमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको महत्वपूर्ण स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पहिलो सेवा बिन्दुको रुपमा समावेश गरिएको डडेल्धुरा अस्पतालबाट हजारौँ नागरिकले प्रत्यक्ष लाभ लिँदै आएका थिए’ सभापति अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर स्वास्थ्य बीमा बोर्डको यो निर्णयले दुर्गम ग्रामीण भेगका जनताको स्वास्थ्य अधिकारमाथि गम्भीर आघात पुगेको छ ।’

रास्वपाले सम्बन्धित निकायलाई यो निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए जनस्तरबाट दवावमुलक कार्यक्रम सुरु गर्ने चेतावनी दिएको छ । यस्तो गैरजिम्मेवार निर्णयले सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको स्वास्थ्य उपचार सेवामा प्रतिकुल असर पार्ने राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान महामन्त्री पारस बाहुनले बताए ।
  

प्रतिक्रिया