ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अब कञ्चनपुरका सबै पालिकामा ‘छाउगोठ भत्काउने अभियान’

सोमबार ३०, असार २०८२ ०३:१९

धनगढी । छाउगोठमा सर्पले टोकेर एक महिलाकोे मृत्यु भएपछि कञ्चनपुर जिल्लाभर छाउगोठ भत्काउने अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आग्रहमा जिल्लास्थित नौ वटै स्थानीय तहले छाउगोठ भत्काउने अभियान सञ्चालन गर्ने भएका हुन् । 

जिल्लाको कृष्णपुर नगरपालिका–१ निगाली टोलमा महिनावारी भएका बेला छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पले डस्दा मृत्यु भएपछि प्रशासनले यस्तो आग्रह गरेको हो । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै स्थानीय तहलाई परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडी कुप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्न परिपत्र गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा सोमबार जारी पत्रमा भीमदत्त नगरपालिका, दोधाराचाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले छाउपडी कुप्रथाको अन्त्य गर्न स्थानीय तहबाट आवश्यक निर्णय गराई छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी देखिएको बताएका छन् । 
 

प्रतिक्रिया