मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । केही बेरअघि सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
आज भएको फाइनलमा सिंगापुरले नेपाललाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएर पूरा गरेको हो ।
फाइनलको पहिलो इनिङ्समा नेपालले सिंगापुरलाई ४०.५ ओभरमा ११३ रनमा अलआउट गरेसँगै जितका लागि ११४ रनको लक्ष्य पाएको थियो ।
सामान्य लक्ष्य पछ्याएको नेपालले सुरुवातमे विकेट गुमाएसँगै दबाब झेलेको थियो । सिंगापुरको कसिलो बलिङका कारण निकै दबाब झेलेको नेपालले अन्त्यमा जित हासिल गर्न सफल भएको हो ।
नेपालका लागि जोय थापाले अविजित रहँदे २४ रन जोडे । त्यस्तै अभय यादवले पनि अविजित १० रनको योगदान दिए । ओपनरद्वय परिमार्जन यादवले १३ रन जोड्दा प्रसिद्ध जैसी १७ रनमा आउट भए । सिवांश बजगाईले २० रन जोडे भने शुभम खनालले १८ रनको योगदान दिए ।
सिंगापुरका लागि कपिस वेंकटरमनले ४ विकेट लिए । त्यस्तै युभान पाण्डेले २ विकेट लिँदा वेदांश गुप्ता र आकाश तेजाले १/१ विकेट लिए ।
फाइनलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिँदै नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । जसमा नेपाली बलरहरूले कसिलो बलिङ गर्दै सिंगापुरलाई ११३ रनमा रोकेका हुन् ।
नेपालका तीव्र गतिका बलरद्वय अभय यादव र सुशील बहादुर रावलले ३/३ विकेट लिएसँगै सिंगापुर दबाबमा परेको थियो । त्यस्तै शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए । नेपालले एक विकेट भने रनआउट गराएको थियो ।
प्रतिक्रिया