ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
अध्ययन अगाडि बढाउन सकस

एसईईमा बाजुरा प्रथम भएका विपन्न परिवारका योगेश

बिहिबार १९, असार २०८२ ०१:३५

धनगढी । बाजुराको अति विकटमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका– १ साप्पाटा बर्कु गाउँका योगेश रावल । जहाँ अहिले पनि न सडक पुगेको छ, न गाउँमा राम्रो विद्यालय छ । न त स्वास्थ्य लगायत अन्य आधारभूत सुविधा नै उपलब्ध छन् । 

बर्कुका विपन्न परिवारका मानबहादुर रावलका चार छोरीपछिका एक्ला छोरा योगेश रावल पढाईमा प्रतिभाशाली विद्यार्थी हुन् । घर परिवारको आर्थिक अवस्था कमजोर छ । योगेशका बुवा मानबहादुर दुई वर्षअघि स्याउ बेच्न सुर्खेत गएका बेला सडक दुर्घटना परेर अशक्त छन् । अहिले हिड्डुल गर्न सक्दैनन् ।

योगेशले ०८१ को एसईई परीक्षामा ३.८८ जीपीए ल्याए । उनले ल्याएको जीपीए बाजुरा जिल्लामा सबैभन्दा धेरै हो । जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराका प्रमुख टीकाराम जोशीले भने,  ‘योगेशले ल्याएको ३.८८ जीपीए नै बाजुराको सबैभन्दा बढी हो ।’ 

योगेश स्वामीकार्तिक खापर गाउँपालिकाको बर्कूस्थित कुलादेवी माविमा अध्ययनरत थिए । कुलादेवीबाट एसईई परीक्षा दिएका ४२ जनामध्ये सबैभन्दा बढी जीपीए ल्याएर उतीर्ण भएका योगेश कुलादेवीमा मात्रै नभई बाजुरामै सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थीमा दर्ज भए । 

एसईई परीक्षामा सम्बन्धित निकायले औपचारिक रुपमा जिल्ला प्रथम, द्धितीय, तृतीय घोषणा नगर्ने भए पनि अभिलेखका आधारमा ०८१ को परीक्षामा बाजुराबाट ३.८३ जीपीए ल्याएर मार्तडीस्थित मालिका माविका लोकराज पाण्डेले द्धितीय स्थान प्राप्त गरेका छन् भने भानोदय मावि बुुढीगंगाका संवेग थापाले ३.८२ जीपीए ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन् । 

बाजुरामा तुलनात्मक रुपमा मालिका र भानोदय मावि सुविधासम्पन्न विद्यालय हुन् । तर प्रथम स्थान हासिल गर्ने योगशले अध्ययन गरेको साप्पाटा बर्कुको कुलादेवी मावि विकटको अभावग्रस्त विद्यालय हो । 

०६७ सालमा माध्यामिक विद्यालयमा स्तरोन्नति भएको उक्त विद्यालयमा मावि तहमा शिक्षक दरबन्दी छैन । गाउँपालिकाको अनुदान कोटामा अग्रेजी, गणित र विज्ञान विषयका तीन जना अस्थायी शिक्षकहरु छन् । प्रावि तहमा दुई जना मात्र स्थायी र निमावि तहमा एकजना राहत दरबन्दी मात्र रहेको कुलादेवी माविमा अभावका बीचबाट पनि योगेशले जिल्लामै अन्यलाई उछिन्दै सबैभन्दा धेरै जीपीए ल्याए । 

स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले विकटको विद्यालयमा पढेर एसईईमा जिल्ला टप गरेपछि सिंगो पालिकावासीलाई गौरव लागेको बताए । 

विद्यालयका प्रअ आनन्दबहादुर शाही भन्छन्, ‘विद्यालयमा अभावको त के कुरा गर्नु, अभावै अभाव छ । तर सानैदेखि पढाईमा अब्बल योगेशले हामी सबैको नाम राखेका छन् ।’ ४२ जना एसईईमा सहभागी भएकामा २९ जना उतीर्ण भएको प्रअ शाहीले बताए ।

योगेशको विज्ञान विषय लिएर प्लस टु पढ्ने इच्छा छ । तर, शारिरीक अशक्त रहेका उनका बुवा मानबहादुर भने छोरालाई कसरी पढाउने भन्ने चिन्तामा छन् ।

प्रतिक्रिया