धनगढी । बाजुराको पूर्वोत्तरमा पर्ने कोल्टी क्षेत्रका स्थानीय तहमै राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको छ । आइतबार बुढीनन्दा नगरपालिकामा विवरण संकलन कार्य सुरु गरिएको छ ।
बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकाका स्थानीय बासिन्दाको कठिनाइलाई मध्यनजर गरी सम्बन्धित स्थानीय तहमै राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासनको मागअनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले दुई जना कर्मचारी पठाएको हो । हरेक स्थानीय तहमा एक सातासम्म विवरण संकलन कार्य हुने बताइएको छ ।
यसअघि कोल्टी क्षेत्रका बासिन्दाहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता थियो । वर्षायामले सडक यातायात अवरुद्ध भएको अवस्थामा सो क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए ।
आइतबार हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया, बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावल, वडाध्यक्षहरु, सुरक्षा निकाय प्रमुख लगायतको उपस्थितिमा औपचारिक रुपमा अभियानको सुरुवात गरिएको हो ।
स्थानीयस्तरमै सेवा पाउन भएपछि स्थानीय बासिन्दाहरु खुसी भएका छन् । सरकारले विभिन्न सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिरहेको छ ।
प्रतिक्रिया