ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराको बुढीगंगा नगरपालिकाको नाम बार्जु राख्न सिफारिस

बुधबार ११, असार २०८२ ०५:२३

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको नाम परिवर्तन गरेर बार्जु नगरपालिका राख्ने प्रस्ताव पारित भएको छ । ११औं नगरसभाले नै नाम परिवर्तनको प्रस्ताव पारित गरहेकोमा १२औं नगरसभाले नाम बार्जु नगरपालिका राख्ने प्रस्ताव पारित गरेको हो । 

नगर सभाबाट नाम परिवर्तनको निर्णय पारित गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई सिफारिस गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए । ‘नाम परिवर्तनको अधिकार नगरपालिकासंग छैन,’ उनले भने, ‘हामीले नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारलाई पठाएका छौं । प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने र त्यसपछि नेपाल सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र बुढीगंगाको सट्टा नगरपालिकाको नाम बार्जु हुनेछ ।’

मोरङ जिल्लामा पनि बुढीगंगा नामकै स्थानीय तह भएको हुँदा विभिन्न समस्या उत्पन्न भएकाले नाम परिवर्तनको प्रस्ताव अगाडि बढाइएको नगरप्रमुख बानियाले बताए । ‘गतवर्ष हामीले माग गरेको योजना मोरङको बुढीगंगा गाउँपालिकार्लाइ प¥यो,’ नगरप्रमुख बानियाले भने, ‘फेरि बाजुरामै अर्को बुढीनन्दा नगरपालिका पनि भएकाले नाम उस्ताउस्तै सुनिन्छ । सोही कारण प्रशासनिक र व्यवहारिक कठिनाइ भएपछि बार्जु नगरपालिका नाम राख्ने निर्णय नगरबाट पारित भएको छ ।’

बार्जु नाम सिंगो बाजुराको पहिचानसँग जोडिएको नगरप्रमुख बानियाले बताए । ‘बाइसे–चौबिसे राज्यकालमा बार्जु एक शक्तिशाली केन्द्र थियो,’ उनले भने, ‘बार्जुकै नामबाट जिल्लाको नाम पनि बाजुरा रहेको बताइन्छ । त्यसैले हामीले पनि नगरवासीको सुझावअनुसार बार्जु राख्न प्रक्रिया अगाडि बढाएका छौं ।’

प्रतिक्रिया